अर्थतन्त्रमा परेको प्रभावको अध्ययन तत्काल गर्न विज्ञको सुझाव

विश्व महामारीका रूपमा फैलिरहेको कोरोना भाइस कोभिड १९ का कारण विश्व अर्थतन्त्र नै गम्भीर मोडमा पुगेको छ।

विश्वको अर्थतन्त्रमा दोस्रो विश्वयुद्वपछिकै ठूलो संकट देखापरेको तर्फ संयुक्त राष्ट्र संघले पनि चिन्ता जनाएको छ। 

विश्वकै शक्तिशाली देश अमेरिकाले राष्ट्रिय संकटकालकै घोषणा गरिसकेको छ भने विश्व अर्थतन्त्रमा दोस्रो ठूलो शक्तिशाली मानिने  चीनको अर्थतन्त्र पनि कमजोर अवस्थामा पुगेको छ।

आयातित अर्थतन्त्र भएका नेपालजस्ता देशहरुमा यसको प्रभाव निकै भयावह हुनसक्ने विज्ञले औंल्याएका छन्।

नेपालको उत्पादनका क्षेत्र संकटपूर्ण अवस्थामा पुगेको भए पनि सरकार यसबारे गम्भीर नभएको तर्फ अर्थ विज्ञले सचेत गराएका छन्। अर्थतन्त्रमा कहाँ कति असर परेको छ, यसका लागि कस्ता प्याकेज ल्याउने र कुन प्राथमिकतामा पर्छन् भन्नेबारे तत्काल काम थाल्नुपर्ने विज्ञको सुझाव छ।

पूर्वअर्थमन्त्री रामशरण महतले सरकारले विशेष तरिकाले कहाँ कति क्षति भएकाबारे ख्याल गर्नुपर्ने बताए। उनले अहिले उत्पादनका कामहरू ठप्प बनेको भए पनि कहाँ कति क्षति भयो त्यसको राहतका लागि कस्ता प्याकेज ल्याउने भन्नेबारे सरकारले स्पष्ट नदेखिएको बताए।

उनले बिएल नेपाली सेवासँग कुरा गर्दै भने, ‘यो विश्व अर्थतन्त्रमै गम्भीर संकटको समय हो। हाम्रोजस्तो देशमा यसको प्रभाव अझै धेरै हुन्छ। त्यसैले यतिबेला सरकारले संयमतासहित आर्थिक प्याकेजहरू ल्याउनुपर्ने त्यसका लागि प्राथमिकताका क्षेत्र छुट्टयाउनुपर्ने हुन्छ।’

अर्थविद् विश्वम्भर प्याकुरेलले अर्थतन्त्रमा परेको प्रभावको तथ्यगत अध्ययन गर्न ढिला गरेको भन्दै सरकारले तत्काल नगरे गम्भीर संकट आउने चेतावनी दिएका छन्।

विश्वबजारले नै कहाँ कति लागत बढ्यो अर्थतन्त्रमा कहाँ कति संकुचन आयो भनेर तथ्य नै सार्वजनिक गरिरहेका बेला हामीले बेला भएको छैन भनेर ढिलो गर्नु गैरजिम्मेवारपन भन्दै अर्थविद् प्याकुरेलले हाम्रो अर्थतन्त्रबारे जनतालाई नेपालको अर्थतन्त्रबारे कुनै थाहा नहुनु दुःखद भएको बताए।

उनले बिएल नेपाली सेवासँग भने, ‘यो विश्व संकट हो। तर, विश्व बैंक, एडिबीलगायतले नै अर्थतन्त्रका सूचकमा आउन सक्ने संकुचनबारे प्रष्ट भनिसकेका छन्। हामीले कहाँ कति क्षति भयो र कति हुनेवाल छ भनेर अध्ययन गर्न किन ढिलाइ गर्नू? हाम्रो कूल ग्राहस्थ्य उत्पादनमा कस्तो अवस्थामा कस्तो असर देखिन्छ भनेर बाहिरबाट गरिएका प्रक्षेपण हेरिररहेका छौं । हाम्रो सरकारले कहिले गर्छ यो काम ?’

उनले अहिलेको अवस्थामा उचित अध्ययन नगरी रकम बाँडे्न थाले अर्थतन्त्र निकै शिथिल हुने खतरा रहेकोतर्फ सचेत गराए।

यस्तै पूर्व गभर्नर एवं अर्थविश्लेषक दीपेन्द्र बहादुर क्षेत्रीले पनि सरकारले आवश्यक आर्थिक प्याकेज ल्याउनमा ढिलाइ गर्न नहुने बताएका छन्।  उनले भने, ‘कहाँ कस्तो असर छ भन्ने बारे अध्ययन र आवश्यक प्रक्षेपण गरी उचित प्याकेजहरु ल्यान सरकारले ढिलाइ गर्नुहुन्न।’

प्रकाशित मिति: : 2020-04-01 14:44:53

प्रतिकृया दिनुहोस्