फ्रान्समा कोरोनाविरूद्ध एन्टिबडी टेस्ट, गरियो प्रत्यक्ष प्रसारण

अनुराधा पौडेल

पेरिस, फ्रान्स

फ्रान्स मानिसलाई कोरोना लागे नलागेको थाहा पाउँन अक्सर नाकको प्वालमा उपलब्ध सिँगान या म्यूकस परीक्षण गरिन्छ। यसरी परीक्षण गरिएपछि त्यसको नजिता कुर्न कम्तीमा ४८ घन्टा पर्खनुपर्छ। तर, मंगलबारदेखि भने बिधिवत रुपमा रगत परीक्षणको बिधि प्रयोगमा ल्याइएको छ। यो बिधिबाट शरीरमा कोरोना भएको नभएको पत्तो लाग्दैन तर शरीरमा कोरोनाबिरुद्ध एन्टिबडी बिकास भएको छ/छैन पत्ता लाग्छ। यसको नतिजा भने पाँचदेखि १० मिनेटमै आउँछ। कोही मानिस कोरोना संक्रमणमा आएको भए त्यसको तीन दिनपछि शरीरले एन्टिबडी बिकास गर्छ।

यो परीक्षण अहिले फ्रान्सको नान्सी भन्ने ठाउँमा रहेको सरकारी अस्पतालमा शुरु गरिएको छ।त्यहाँको प्रयोगशालामा काम गर्नेहरुले शुरुमा स्वास्थ्य क्षेत्रमा काम गर्ने नर्स र सहायक नर्सको रगत परीक्षण गर्नेछन्। त्यसपछि यो परीक्षणलाई नागरिकस्तरमा बिकास गरिने छ। नागरिकस्तरमा परीक्षण गर्दा ६२ यूरो शुल्क लाग्ने छ र यो शुल्क सरकारले नभै ब्यक्ति स्वयंले ब्यहोर्नुपर्ने छ। सानो सर्कलमा यो किटको परीक्षण भैसकेको छ र यसले दिने नतिजा ९५ प्रतिशत बिश्वस्त हुने दावी गरिएको छ।

यो किट हेर्दामा मार्कर पेन जस्तो देखिन्छ । फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले बारबार फ्रान्सेली सरकार यो खालको परीक्षण प्रबिधिलाई ब्यापक रुपमा बिस्तार गर्न चाहेको बताउँदै आएका छन्। फ्रान्सका अधिकांश संक्रमण रोग बिशेषज्ञले कोरोनाको यो संक्रमण पहिलो चरणको भएको बताएका छन् । उनीहरुका अनुसार केही महिनापछि कोरोना पुन: संक्रमणको रुपमाविश्वव्यापि फैलने छ। दोस्रो चरणको संक्रमण आउँदा कति प्रतिशत जनसंख्यामा कोरोनाबिरुद्द एन्टिबडी बिकास भएको छ भन्ने कुरा पत्ता लाग्यो भने त्यो बेला उपचार र रोकथाम ब्यवस्थापन गर्न सरकारलाई सजिलो हुनेछ।

यो प्रविधिको बिकास फ्रान्सको एक प्राइभेट अस्पतालमा इमरजेन्सी सेवामा काम गर्ने डा. अल आफ्देजीको समुहले गरेको हो। उनले मंगलबार बेलुका एक टेलिभिजन कार्यक्रमका प्रस्तोताको रगत परीक्षण टेलिभिजनकै एक कक्षमा गरेर त्यसको प्रत्यक्ष प्रसारण गरे टेलिभिजन प्रस्तोताको रगत परीक्षण गर्दा उनको रिजल्ट नेगेटिभ आएको थियो अर्थात् टेलिभिजन प्रस्तोता अहिलेसम्म कोरोनाबाट संक्रमित भैसकेका थिएनन्।

प्रकाशित मिति: : 2020-04-02 02:44:28

प्रतिकृया दिनुहोस्