कोरोनाविरुद्धका दुई खोप परीक्षण सुरु, डब्लुएचओले दियाे स्वीकृति

अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको सम्भावित संक्रमण रोक्नको लागि दुई खोपको परीक्षण सुरु गरेका छन्। यो परीक्षणको लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वीकृति दिएको छ। 

वैज्ञानिकहरुले कोरोना विरुद्ध कोशेढुंगा साबित हुने ठानिएका खोपको प्रयोगशालामा परीक्षण सुरु गरेका हुन्। अक्सफोर्ड विश्वविद्यालय र अमेरिकी कम्पनी इनोभिओ फर्मास्यूटिकल्सले बनाएका खोप जनावरमा परीक्षण गर्नछन्। अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीले खोपले काम गर्छ वा गर्दैन भनेर हेर्नको लागि सुरुमा जनावरमाथि प्रयोग गर्ने भएका हुन्।

यस्तै यो परीक्षणको क्रममा खोप मानिसमा प्रयोग गर्न सुरक्षित रहे–नरहेको पनि हेरिने छ।

यी खोपको पहिलो मानवीय परीक्षण गएको अप्रिलमा अमेरिकामा सुरु भएको थियो तर त्यो बेला जनावरमा परीक्षण गर्नु पर्ने चरणलाई बेवास्ता गरिएको थियो।

विश्वभर तीव्र गतिमा कोरोनाविरुद्धका विभिन्न खोपहरु बनाउने प्रयासमा वैज्ञानिकहरु छन्। तर अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रिअल रिसर्च अर्गनाइजेसन (सिएसआइआरओ)ले अहिले गर्न लागिएको परीक्षण सबैभन्दा विस्तृत प्रि–क्लिनिकल परीक्षण हुने बताएको छ।

विश्वभरका वैज्ञानिकको सहकार्यका कारण कोरोनासविरुद्धको खोप बनाउने प्रयासमा चाँडै सकारात्मक काम भएको र अहिले परीक्षण गरिएका खोपबाट आश रहेको सिएसआइआरओका डा. रोब ग्रेनफेलले बताएका छन्।

प्रकाशित मिति: : 2020-04-02 12:00:45

प्रतिकृया दिनुहोस्