कोरोना कहर: २६ औं जलवायु सम्मेलन स्थगित

आगामी नोभेम्बरमा बेलायतको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्टसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष मुलुकहरुको २६ औं सम्मेलन (कोप २६) स्थगित गरिएको छ। 

जर्मनीको बोनमा मुख्यालय रहेको यूएनएफसीसीसीको कोप ब्युरोले कोरोना भाइरस संक्रमणका कारण सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो। कोरोना संक्रमणले विश्व नै अक्रान्त भएपछि करिब ३० हजार मानिस सहभागी हुने उक्त सम्मेलन स्थगित गर्नुपर्ने माग उठेको थियो। 

गत मंसिरमा स्पेनको म्याड्रिडमा भएको २५ औं जलवायु सम्मेलनले २६ औं सम्मेलन ग्लास्गोका लागि तय गरेको थियो। कोप २६ को मिति तोकिएको छैन। यो सम्मेलन सम्भवतः सन् २०२१ को मध्यतिर आयोजना हुने अपेक्षा गरिएको छ।

कोप २६ को स्थल तोकिएको स्कटीस इभेन्ट्स क्याम्पसलाई कोरोनाका बिरामीको अस्थायी अपतालमा रुपान्तरण गरिएको छ। कोरोनाका कारण बेलायतसमेत आक्रान्त बनेको छ।

कोप २६ का लागि अध्यक्ष रहेका अलोक शर्माले विश्वले अभूतपूर्व चुनौतीको सामना गरिरहेको र सबै देशहरूले कोरोनाबाट जीवन बचाउने लडाई लडिरहेकाले सम्मेलन स्थगित गरिएको जनाएका छन्। यूएनएफसीसीसीकी कार्यकारी सचिव प्याट्रिसिया एस्पिनोसाले कोरोनाले मानवजातिका लागि सबैभन्दा जोखिमपूर्ण खतरा उत्पन्न गराएको भन्दै २१ औं शताब्दीलाई सफा, ग्रिन, स्वस्थ, न्यायीक, सुरक्षित र बढी लचिलो बनाउने अवसरका रुपमा लिन विश्वका नेतृत्वलाई सुझाएकी छन्।
 

प्रकाशित मिति: : 2020-04-02 15:08:31

प्रतिकृया दिनुहोस्