सुरक्षा सामग्री नहुँदा सफाइकर्मी उच्च जोखिममा, जोखिमबाट बाँच्न ताली बजाउँदै (भिडियाे)

मनीषा अवस्थी

काठमाडाैं

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण फोहोरसँग काम गर्ने मजदुर मर्कामा परेका छन्। भाइरसको उच्च जोखिमका कारण नेपाल ‘लकडाउन’ भएपछि काठमाडौं उपत्यका लगायत फोहोर व्यवस्थापन हुँदै आए पनि सुरक्षा सामग्रीको अभावमा सफाइकर्मीहरु उच्च जोखिममा परेका हुन्। 

अखिल नेपाल सरसफाइ मजदु्र संघका महासचिव सोमनाथ ढकालले देशभरका १० हजार बढी मजदुर सुरक्षा सामग्री अभावमा उच्च जोखिममा रहेको बताए। बिएल नेपाली सेवासँग कुरा गर्दै ढकालले भने, ‘हामी फ्रन्टलाइनमा काम गर्ने सफाइ मजदुर उच्च जोखिममा छौं। तर सरकारले हाम्रो वास्ता गरेको छैन।’ उनले सफाई जस्तो पवित्र कामलाई हेर्ने सरकारी दृष्टिकोण ठिक नहुँदा आफूहरु समस्यामा परेको बताए। जाेखिममा सरकाले चिकित्सक र प्रहरी जस्तै सफाई मजदुरलाई पनि प्रथमिकतामा राखि सेवासुविधा दिन उनले विशेष आग्रह गरे। 

यता वातावरण संरक्षण गैसस महासंघ नेपालका अध्यक्ष टिकाराम दाहालले नीजि क्षेत्रले मजदुरका लागि सक्दो गरे पनि प्रयाप्त नभएको बताए। उनले नीजि क्षेत्रसँग भएको सिमित स्रोत साधनका आधारमा सुरक्षा सामग्री वितरण गरे पनि सरकारले सफाईकर्मीलाई वेवास्ता गरेको गुनासो गरे।

बिएल नेपाली सेवासँग कुरा गर्दै दाहालले भने, अहिले हामीले सक्दो प्रयास गरिरहेका छौं। नीजि क्षेत्रसँग भएको स्रोत साधनले भ्याएसम्म सुरक्षा सामग्री पनि दिइरहेका छौं। मजदुरलाई कन्भिन्स गर्न निकै कठिन छ। यो काम पनि गरिरहेका छौं। तर सरकारले नै सफाईकर्ममा अपनत्व लिएर सफाईकर्मीलाई उचित राहतकाे प्याकेज दिनुपर्छ।’ 

ताली बजाउँदै फोहोर उठाउँदै

कोरोना भाइरसका कारण सरसफाई मजदुरको जोखिमलाई ध्यान दिँदै सिठ्ठीको सट्टा ताली बजाउन थालिएको छ। सिठ्ठी बजाउँदा पटकपटक मुख हात लैजानुपर्दा उच्च जोखिम हुनेभन्दै साइरन र ताली बजाउन थालिएको वातावरण संरक्षण गैसस महासंघ नेपालका अध्यक्ष टिकाराम दाहालले बताए। 

उनले भने, ‘हामी घर÷घरमा फहोर उठाउँन जाँदा सिठ्ठी बजाएर घरमा जानकारी दिने गर्थ्याै । तर, अहिले त्यसको सट्टा ताली बजाउन भनेका छौं। मजदुरले यही गरिरहेका छन्।’ 

‘फोहोर छुट्याइदिनुस्’ 

हाल काठमाडौं उपत्यकाका सबै नगरपालिकाबाट दैनिक करिब ११ सय  मेट्रिक टन फाेहोर उठ्ने गरेको छ।  यसमध्ये अधिकांश औद्योगिक क्षेत्र, घर र रेष्टुरेन्टबाट फहोर उत्पादन हुने गरेको छ। अहिलेसम्मको अवस्था हेर्दा अधिकांश फोहोर एउटैमा मिसाएर फाेहोरको गाडी आउँदा दिएर पठाउने गरिएको छ। यसरी उठाइएको फाेहोरमध्ये अधिकांश फोहोर नुवाकोटको सिस्डोल र केही फोहोर टेकुमा लगेर छान्ने र छुट्याउने गरिएकाे छ। यस्तो फाेहोर छान्ने मजदुर अनौपचारिक रुपमा काम गरिरहेका हुन्छन्।

अहिले महामारीका बेला मजदुर पनि केही घटेको र फोहोर छुट्याउन अझै जोखिपूर्ण रहेकाले कुहिने र नकुहिने फोहोर छुट्याईदिन महासंघका अध्यक्ष दाहालले उपत्यकाबासीसँग आग्रह गरेका छन्।

यसरी लगिँदै छ सिस्डोलमा फोहोर

सामान्य अवस्थामा काठमाडौं उपत्यकाबाट दैनिक २ सय वटा फोहोरका गाडी सिस्डोल जाने गरेका थिए। अहिले उपत्यकाको फोहोर घटेको र व्यवस्थापनमा समेत केही समस्या देखिएर दैनिक ६० वटा मात्रै गाडीले सिस्डोलमा ‘इन्ट्री’ पाउने गरेका छन्। फाेहोर सिस्डोल लैजाने क्रममा बाटो पर्ने गाउँ र डम्पिङ साइट वरिवरीका गाउँले ले जोखिमको कारण देखाउँदै अवरोध गरेपछि दैनिक ६० वटा मात्र गाडीले फाहोर लग्ने गरेको ककनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष केदार पौडेलले जानकारी दिए।

वडा अध्यक्ष पौडेलले बिएल नेपाली सेवासँग भने, ‘अहिले दैनिक ६० गाडी आउन दिने, ती सबैको ड्राइभरको फाेन नम्बर, गाडी नम्बर लगायतको सबै डिटेल दिएपछि दैनिक ६० वटा गाडी आउन दिने सहमति भएको छ।’ 

उनकाअनुसार दिउँसोको समयमा यसको उच्च जोखिम हुने भन्दै हालका लागि बिहान ४ बजेदेखि ८ बजेभित्रमा  दैनिक ६० वटा ट्याक्टर सिस्डोल जाने र त्यसको सम्पूर्ण विवरण वडालाई दिने सहमति भएको छ।

कोरोना भाइरसका कारण नेपाल पूर्ण लकडाउन भए पनि अत्यावश्यक सेवा अन्तर्गत फोहोर व्यवस्थापन भने गरिदै आएको छ।

प्रकाशित मिति: : 2020-04-03 08:12:00

प्रतिकृया दिनुहोस्