स्पेनमा लकडाउन दुई हप्ता थप, मास्क अनिवार्य लगाउन सरकारकाे आग्रह

बिएल संवाददाता

बार्सिलाेना

स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेजले लकडाउनको अवधि अप्रिल २५ सम्मका लागि बढाएका छन्। स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि थप दुई हप्ताको लकडाउन अत्यावश्यक रहेको प्रधानमन्त्री सान्चेजले राष्ट्रका नाममा गरेको सम्बोधनमा बताएका हुन्।

लकडाउनसहितका सामाजिक दूरी कामय गर्ने उपायहरुले जीवन रक्षा गरेको उनले बताए। स्पेनमा मार्च १४ देखि लकडाउन लागु भएको थियो।

प्रधानमन्त्री सान्चेजले स्पेन कोरोना भायइरसको उच्च तहको संक्रमण संकट पार गर्ने अवस्थामा पुगेको बताएका छन्। लगातार दोस्रो दिन कोरोनाका कारण हुने मृत्यु स्पेनमा घटेपछि प्रधानमन्त्री सान्चेजले आशको सञ्चार भएको बताएका हुन्।

स्पनेमा शनिबार कोरोना भाइरसका कारण ८०९ जनाको मृत्यु भयो। यो पछिल्लो एक हप्ता यताकै कम हो।

स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ९४७ पुगेको छ। सबैभन्दा धेरैको मृत्यु भएको देश हो इटाली, त्यहाँ अहिलेसम्म १५ हजार ३६२ जनाको कोराेना कारण मृत्यु भएको छ। तर संक्रमितको संख्या भने इटालीमा भन्दा स्पेनमा बढी छ।

स्पेनमा एक लाख २६ हजार भन्दा बढी तथा इटालीमा एक लाख २४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमणदर पनि केही कम हुँदै गएको छ।

यस्तै सरकारी अधिकारीहरुले सबै नागरिकका लागि पर्याप्त मास्कको व्यवस्था गर्ने प्रयास गरिरहेका छन्। मास्कको व्यवस्था गरेपछि विभिन्न गतिविधिमा पनि लाग्दै आएको प्रतिबन्ध कम गर्न सकिने उनीहरुको विश्लेषण छ।

विश्वभर अहिलेसम्म कोभिड–१९ का कारण ६४ हजार ७१६ जनाको मृत्यु भएको छ। यस्तै संक्रमितको संख्या विश्वभर १२ लाख भन्दा बढी रहेको छ। अहिलेसम्म दुई लाख ४६ हजार भन्दा बढी विश्वभरमा कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किएका छन्।

सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा कुल संक्रमितको संख्या तीन लाख ११ हजार भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या ८ हजार ४५२ पुगेको छ।
 

प्रकाशित मिति: : 2020-04-05 08:36:58

प्रतिकृया दिनुहोस्