कोरोनासम्बन्धी सूचना दिन प्रदेश ५ मा मोबाइल एप

प्रदेश ५ सरकारले कोरोना भाइरस सम्बन्धी सम्पूर्ण सूचनाहरुलाई व्यवस्थित गर्नका लागि मोबाइल एप निर्माण गरेको छ।

प्रदेशभरका सूचना संकलन र सम्प्रेषणमा सहयोगी हुने अपेक्षाका साथ सरकारले कोभिड १९ ट्रयाकिङ तथा सूचना प्रणाली नामक एप तयार पारेको हो।

एप सोमबारदेखि गुगल प्ले स्टोर र मुख्यमन्त्री कार्यालयको वेवसाइटबाट डाउन गर्न सकिने जनाइएको छ। मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गरी एपमार्फत संकलन हुने विवरणले कोरोनाविरुद्ध प्रदेशको स्वास्थ्य विवरण विश्लेषण गरी योजना बनाउन मद्दत पुग्ने उल्लेख गरेका छन्।

एपमार्फत आफ्नो, परिवार र छरछिमेकको कोरोनाससँग सम्बन्धित विवरण पठाउन समेत सरकारले अनुरोध गरेको छ। एपमार्फत संकलन भएका सबै सूचनाको गोपनीयता राखिने सरकारले जनाएको छ।

भर्खरै विदेशबाट आएका व्यक्तिहरू क्वारेनटाइनमा बसे नबसेको विवरण समेत यसै एपमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ। 

एपबाट कोरोना सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्यांक एवं समाचारहरू समेत प्राप्त गर्न सकिनेछ।

प्रकाशित मिति: : 2020-04-05 17:54:11

प्रतिकृया दिनुहोस्