‘क्यानडाका नेपालीलाई अहिलेसम्म कोरोना संक्रमण छैन’

बेनुप राज भट्टराई

टोरन्टो, क्यानडा

कोरोना भाइरसको ‘इपिसेन्टर’ बनेको न्युयोर्कमा शनि र शुक्रवार मात्रै तीन नेपालीले ज्यान गुमाएको खबर फैलिइरहँदा क्यानडामा भने आइतवार अपरान्हसम्म नेपाली समुदायका कसैलाई यसले सताएको छैन। 

क्यानडामा कोरोना भाइरसका कारण ज्यान गुमाउने २ सय ९७ र संक्रमित हुने १५ हजार ४ सय ४३ जना पुग्दै गर्दा यहाँ बसोबास गर्ने नेपाली समुदायका कसैलाई पनि यसको संक्रमण नभएको हो। 

टोरन्टो शहर भएको अन्टारियो प्रोभिन्समा मात्रै कोरोना भाइरसका कारण एक सय ३९ जनाको ज्यान गइसकेको छ। ४ हजार ३८ जना संक्रमित छन्। यो नेपालीको बसोबास बढी भएको प्रोभिन्स हो। 

नेपाली समुदायको बाक्लो बसोबास रहेको अर्को प्रोभिन्स अल्बर्टामा पनि कोही कसै नेपालीलाई यसको संक्रमण देखिएको छैन। उक्त प्रोभिन्समा अन्य समुदायका २० जनाको मृत्यु भइसकेको छ भने एक हजार एक सय ८१ संक्रमित छन्।

‘अहिलेसम्म नेपालीलाई संक्रमण नदेखिनु राम्रो हो तर खुशी मनाउने बेला होइन’ एडमण्टन निवासी एक नेपालीले भने, ‘अझ बढी सतर्क भएर कोरोना भाइरस परास्त गर्नु ठूलो चुनौती हाम्रो सामु छ।’ 

कोही कसैलाई संक्रमण भए तुरुन्त सम्पर्क गर्न दूतावासले २४ घण्टै रेस्पोन्स गर्ने गरी हटलाइन सेवा उपलव्ध गराएको छ। तर, अहिलेसम्म कसैलाई पनि संक्रमण भएको खबर छैन।
- भृगु ढुंगाना, नेपाली राजदूत, क्यानडा 

अटोवास्थित नेपाली दूतावासले नेपालीलाई केही नभएको जनाउँदै ‘अरुतिरका घटनाबाट पाठ सिकेर सतर्कता अपनाइरहेकाले र अमेरिकाभन्दा कम प्रभावित भएकाले नेपालीहरु अहिलेसम्म जोगिएको’ जनाएको छ। 

क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले क्यानडामा ४० हजार हाराहारी नेपाली रहेको प्रसंग उल्लेख गर्दै तीमध्ये अहिलेसम्म कसैलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी नआएको बताए। 

‘कोही कसैलाई संक्रमण भए तुरुन्त सम्पर्क गर्न दूतावासले २४ घण्टै रेस्पोन्स गर्ने गरी हटलाइन सेवा उपलव्ध गराएको छ’ राजदूत ढुंगानाले भने, ‘तर, अहिलेसम्म कसैलाई पनि संक्रमण भएको खबर छैन।’

हामीले अझै बढी सतर्कता अपनाएर कोरोना भाइरसलाई हराउनुपर्छ।एनआरएनएका सबै पदाधिकारीले सबैतिर बुझिरहनु भएको छ, नेपालीहरु संक्रमणबाट मुक्त छन्।
- चिरञ्जिवी घिमिरे, ​अध्यक्ष एनआरएनए, क्यानडा 

क्यानडाका चार शहर मन्ट्रियल, टोरन्टो, क्याल्गेरी र भिक्टोरियामा रहेका नेपाली कन्सुलरसँग पनि नियमित सम्पर्क भइरहेको उल्लेख गर्दै राजदूत ढुंगानाले अहिलेसम्म नेपाली समुदाय संक्रमणमुक्त भएको बताए। 

यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले पनि आइतवार अपरान्हसम्म यहाँको नेपाली समुदाय कोरोना भाइरसको संक्रमणबाट मुक्त रहेको जनाएको छ।

न्यूयोर्कसहित अरुतिरका घटनाले मानसिक त्रास बढेको भएपनि उच्च सतर्कता अपनाएकाले क्यानडाका नेपालीमा कोरोना भाइरसको संक्रमण नभएको संघका अध्यक्ष चिरञ्जिवी घिमिरेले बताए। 

‘हामीले अझै बढी सतर्कता अपनाएर कोरोना भाइरसलाई हराउनुपर्छ’ पेशाले नर्ससमेत रहेका अध्यक्ष घिमिरेले भने, ‘एनआरएनएका सबै पदाधिकारीले सबैतिर बुझिरहनु भएको छ, नेपालीहरु संक्रमणबाट मुक्त छन्।’

राजदूतावास र एनआरएनए दुबैले आ–आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत ‘केही साह्रोगाह्रो परे तुरुन्त सम्पर्क गर्न’ अपिल गर्दै यो संकटसँग जुध्न स्रोत र सामथ्र्यले भ्याएसम्म सक्दो सघाउने प्रतिवद्धता गरेका छन्।

प्रकाशित मिति: : 2020-04-06 04:35:15

प्रतिकृया दिनुहोस्