अस्ट्रेलियामा ८ नेपाली संक्रमित, भर्खरै पढ्न जाने विधार्थी अफ्ठेरोमा

मनीषा अवस्थी

काठमाडाैं

अस्ट्रेलियामा ८ नेपालीमा कोरोनाको संक्रमण देखिनुका साथै एक जना स्वस्थ्य भएर घर फर्किएको अस्ट्रेलियास्थित नेपाली राजदुत महेशराज दाहालले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्। 

अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने ४, मेलर्बनमा रहेका ३ तथा तस्मेनियामा एक नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको उनले बताएका हुन्। यी सबैलाई आइसोलेसनमा राखेर उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको उनको भनाई छ। 

बिएल नेपाली सेवासँग विशेष कुराकानी गर्दै उनले कोरोनाको संकटबाट उब्जिने समस्यासँग लड्नका लागि दुतावासले तयारी गरेको जानकारी पनि दिए। 

‘हामी सबै नेपालीसँग सम्पर्कमा छौं। नेपालीहरूको हितमा काम गरिरहेका संस्था तथा गैर आवासिय नेपाली संघ (एनआरएन) सँग समन्वय बनाएका छौं,’ उनले भने।। 

बिएल नेपाली सेवालाई दिएको अडियो अन्तर्वार्ता छिट्टै प्रकासित हुँदैछ। उनले हाल अस्ट्रेलियामा डेढ लाखको हाराहारीमा नेपाली रहेको तथा ६० हजार विधार्थी भिसामा आएको पनि बताए। 

भर्खरै भर्ना भएर पढ्न आएका छात्रछात्रामा केही समस्या देखिएको तर पहिलेदेखि बसोबास गर्दै आइरहेका नेपालीको आत्तिनुपर्ने स्थिति नभएको उनको भनाई थियो। ‘काम गर्दै कलेज पढ्नु पर्ने बाध्यता भएका विधार्थी मार्कामा परेका छन्,’ उनले भने। 

अहिले अस्ट्रेलियामा पनि ‘लकडाउन’ छ। प्रायः नेपालीहरू बेरोजगार बनेका छन्। 

उनले नेपाली विधार्थीलाई समस्या नहोस् भनेर अस्ट्रेलियन सरकारसँग कुरा अगाडी बढाइरहेको तथा विभिन्न विश्वविद्यालयमा कोरोनाबाट प्रभावित बेलाको शुल्क मिनाह गर्न आग्रह गरिने पनि बताए। 
 

प्रकाशित मिति: : 2020-04-06 17:05:05

प्रतिकृया दिनुहोस्