सरकार सचेत छ, दुई साता थप सतर्क रहनु: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले आउने दुई साता नेपालीका लागि थप चुनौतिपूर्ण हुने भएकाले थप सचेत रहन चेतावनी दिएका छन्। मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन्।

‘समुदायस्तरमै गएर सरकारको टिमले कोरोना भाइरसको पुष्टीका लागि नमूना सकंलन र परीक्षण शुरु गरेकाले आगामी दुई साता चुनौतिपूर्ण हुनसक्ने छ,’उनले भने।

प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए।

‘कोरोना भाइरस कता कता पुगेको छ भन्नेबारे पहिचान गर्न नयाँ विधि अपनाउन लागेका छौं,’ उनले भने,‘ नयाँ विधिबाट यसको खोजी सुरु भएको छ।’

सरकार झन सचेत: प्रधानमन्त्री ओली


प्रधानमन्त्री ओलीले कोरोना भाइरस एक जना स्थानीयलाई देखिएसँगै सरकार थप सचेत भएर रोकथामको काम अघि बढाएको दाबी गरेका छन्।

‘स्थानीय एक जनामा संक्रमण देखिएसँगै थप सचेत भएर सरकारले काम गरेको छ,’ प्रधानमन्त्री ओलीले भने ‘ सीसीएमसीले चार संरचना खडा गरेर बिरामीको ओसारपोसारदेखि अनेकौ काम गर्ने छ।’

उनले नेपाल पनि कोरोना भाइरसका संक्रमित ९ जनामा मात्रै सीमित हुनुको कारण साझा प्रयासले भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले लकडाउनले परेको असरप्रति क्षमा मागेका छन्। तर समस्या यथावत भएको र थप सावधानी नअपनाएको खण्डमा भयावह अवस्था आउन सक्ने उनले बताए।

सीमित पूर्वाधार, स्वास्थ्यसामग्रीको कमीका बाबजुत पनि राष्ट्रसेवक र स्वास्थ्यकर्मीले देखाएको कामको प्रसशंसा गर्नु पर्ने उनले बताए। यस्ता संकटका बेला प्रदेश तथा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने शिक्षा पनि लिइएको प्रधानमन्त्री ओलीले बताए।

उनले कोरोना भाइरसबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे।

प्रकाशित मिति: : 2020-04-07 11:58:13

प्रतिकृया दिनुहोस्