देशको वित्त प्रणालीलाई सकारात्मक दिशामा लैजाने प्रयास गर्छु : नवनियुक्त गभर्नर

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्फ लैजान आफू प्रयत्नशील रहने बताएका छन् । 

केन्द्रीय बैंकले मंगलबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भने, 'कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण नेपालको अर्थतन्त्रसमेत प्रभावित भएको छ । मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्फ लैजान मेरो प्रयास रहने छ ।'
 
कोरोनाका कारण व्यावसायिक वातावरण प्रभावित भएको अवस्थामा त्यसलाई समुचित सम्बोधन गर्नका निम्ति नेपाल राष्ट्र बैंक तयार रहेको बताए । गभर्नर अधिकारीले भने, 'कोरोना भाइरसको संक्रमणले परिस्थितिलाई कहाँसम्म पुर्याउँछ भन्ने निश्चित छैन । आउने चुनौतीलाई सम्बोधन गर्नका निम्ति नेपाल राष्ट्र बैंकले आवश्यक पहल गर्नुपर्छ । यसका लागि हामी तयार रहनुपर्छ ।'

वरिष्ठ अधिकारीहरु र कर्मचारीसँग बैंकका लक्ष्य र उद्देश्य प्राप्तिका निम्ति एकजुट भएर अघि बढ्न पनि आह्वान गरे । उनले राष्ट्र बैंकको अनुभवी र सक्षम जनशक्तिका कारण राष्ट्र बैंकले विशिष्ट पहिचान बनाएको उल्लेख गर्दै उनले बैंकको छवि, स्वायत्तता एवं निष्ठालाई कायम राख्ने प्रतिबद्धता समेत व्यक्त गरे । 
 
चार्टर्ड एकाउन्टेन्टअधिकारी नेपाल राष्ट्र बैंकको सत्रौँ गभर्नर हुन् । खोटाङको सिमपानीमा जन्मिएका अधिकारीले २०४२ देखि ३० वर्ष राष्ट्र बैंकमा सेवा गरेका थिए । सेवा प्रवेश गरेको २५ वर्षपछि  ०६७ पुसदेखि पाँच वर्ष डेपुटी गभर्नरको जिम्मेवारी सम्हालेका थिए । 

सन् १९९३ मा भारतको मद्रासस्थित द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्सीको अध्ययन पूरा गरेका हुन् । गभर्नरमा नियुक्त हुनुपूर्व उनी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । उनले मंगलबारै गभर्नरको सपथग्रहण गरेर पदभार सम्हालेका हुन् । 

प्रकाशित मिति: : 2020-04-07 22:58:03

प्रतिकृया दिनुहोस्