सरकारी निर्देशन पालना नगरिए लाश थुपार्ने ठाउँसमेत हुने छैन

फ्रान्सबाट फर्किएकी १९ वर्षीया युवती प्रसिद्धि श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भेटिएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको छ। सुरुमा एक सातााको लागि भनेर सुरु गरिएको लकडाउन अहिले बैशाख ३ सम्मको लागि थप गरिएको छ र त्यसपछिको अर्को सातापनि लकडाउन गर्ने सरकारको तयारी रहेको छ। लकडाउन भएसँगै नेपालमा हालसम्म संक्रमितको संख्या ९ पुगेको छ। 

जसमा प्रसिद्धि श्रेष्ठ र लालबहादुर तामाङ्गको टेकु अस्पतालमा उपचार भईरहेको छ भने अंशु सापकोटा र मनकुमारी सापकोटाको बाग्लुङ्ग अंचल अस्पतालमा उपचार भईरहेको छ भने   धनगढिका अमृत शाही, उनकी भाउजु दिपा शाही, ईन्द्र विक र राज विकको धनगढि अस्पतालमा उपचार भईरहेको छ। चीनबाट आएका पहिलो संक्रमित युवा भने उपचारपछि निको भएर घर फर्किसकेका छन्।

सरकारले गरेको लकडाउनकै समयमा ७ जनामा संक्रमण देखिएको हो। संक्रमित मध्य एकजना सुरुमै निको भएर घर फर्केपनि १४ दिन आईसोलेसनमा बसिसकेका केही संक्रमितलाई दोस्रो पटकको स्वाव परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरु अस्पतालकै आइसोलेशनमा भर्ना भएर उपचार गराइरहेका छन्। 

नेपालमा कोरोना संक्रमणको जोखिम देखिने वित्तिकै सरकारले तत्काल लकडाउन र अन्तराष्ट्रिय उडानहरु बन्द गर्‍यो त्यसले गर्दा संक्रमणको जोखिम कम देखिएपनि भारतबाट नेपाल भित्रिएका नेपालीहरु सबैलाई क्वारेन्टाइनमा राख्न नसक्दा उनीहरुमध्ये कतिलाई संक्रमण छ भन्ने यकिन तथ्य पत्ता लाग्न सकेको छैन।

संक्रमित व्यक्तिसँगै अन्तराष्ट्रि र राष्ट्रिय उडानमा यात्रा गरेकाहरु अझै सम्पर्कमा आएका छैनन् भने सार्वजनिक यातायात र भेट्घाटहरुमा सहभागी भएकाहरुको खोजबिन गर्न र परीक्षणको दायरामा ल्याउने काम भएको छैन।

हुन त नेपालमा कोरोना परीक्षण गर्ने मेडिकल सामग्री पर्याप्त छैन र अनुभवि स्वास्थ्यकर्मीको पनि अभाव रहेको सरकारले नै बताइसकेको छ। यस्तो अवस्थामा मेडिकल सामग्री ल्याउन अन्य देशमा भर पर्नुको बिकल्प छैन।

यही कुरालाई मध्यनजर गर्दै सरकारले लकडाउनकै अवधिमा ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबीसीआई)मार्फत एक अर्ब २४ करोड  बढी रकमको उपकरण झिकाएको थियो। छिटो सामान ल्याउन सरकारले नेपाल एयरलाइन्सको वाइडबडी विमान नै चीन पठाएर पहिलो चरणमा अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याएको थियो।

वाइडबडीले अत्यावश्यक स्वास्थ्य सामग्रीमा पञ्जा, गाउन, चस्मा, एन ९५ मास्क, जुत्ता, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षणका लागि आवश्यक पोर्टेबल पीसीआर मेसिन, कोरोना परीक्षण किटसँगै नमुना संकलनका लागि आवश्यक ट्युवलगायत ल्याएको थियो। सम्झौतामा तीन चरणमा तोकिएको रकम बराबरका स्वास्थ्य सामग्री ल्याइसक्नुपर्ने उल्लेख भएपनि समयमा सामान नआएको भन्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले उक्त समूहसँगको सम्झौता रद्ध गरे।

विभागले सम्झौता रद्ध गर्दै ओम्नी समूहलाई कालो सूचीमा राखेको जानकारी दिएका छन्। सम्झौता रद्ध गर्दै विभागले ५ करोड रुपैयाँ धरौटी जफत गरेको छ। सरकारले  थप कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने औषधि तथा स्वास्थ्य उपकरण जीटुजी (सरकार–सरकारबीच सम्झौता)मार्फत ल्याउन नेपाली सेनालाई जिम्मेवारी दिएको छ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी) ले तयार पारेको स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि नेपाली सेनाले मंगलबार पाँच देशलाई पत्राचार गरेको छ। सेनाले स्वास्थ्य सामग्रीका लागि चीन, दक्षिण कोरिया, सिंगापुर, इजरायल र भारतलाई प्राथमिकतामा राखेर छ। तर

पत्र पठाइए पनि तत्कालै मागेको जति सामग्री पाउने सम्भावना भने न्यून रहेको बताइएको छ। सेनाका अनुसार ती देशका सैनिक सहचारीमार्फत पनि स्वास्थ्य सामग्री खरिदका लागि पहल मात्रै गरिएको हाे।

१४ दिनको यो अवधिमा सरकारले गरेको अर्को काम भनेको सात प्रदेशमा ल्याब स्थापना हो। चीनबाट आएको पीसीआर मेसिन प्रदेशहरुमा राखेर ल्याब स्थापना गरिएको छ,यो सकारात्मक छ। 

आजमात्र अछाम र जुम्लाका ४ सय ५० जनाको कोरोना परीक्षणको नमुना संकलन गरी काठमाडौं ल्याएको छ। हरेक जिल्लामा स्वाव परीक्षण गर्न सम्भव नभएपछि सरकारले र्‍यापिड डाईग्नोसिटक परीक्षणलाई अगाडि बढाएको हो। सो परीक्षणमा रगतको जाचँ अनुसार संक्रमण भए नभएको परीक्षण गरिन्छ। 

तर, एउटा ल्याबबाट दिनमा १०/१२ वटा मात्र नमुना परीक्षण गर्नेसक्ने भएकाले जुन गतिमा परीक्षण गर्नुपर्नेछ , त्यो पूरा नहुने स्वयं सरकारी अधिकारीहरुले स्वीकार गरेका छन्। 

जुन परीक्षणले कोरोना संक्रमणको नतिजा शत्प्रतिशत् सहि नदिने स्वास्थ अधिकारीहरुनै बताउछन्। यस्तो अवस्थामा र्‍यापिड टेस्ट गरेर मात्र विश्वस्त हुने अवस्था भने देखिदैन।

बझाङमा   क्वारेन्टाइनमा बसेकाहरु भागेर मेला हेर्न गएको खबरले नेपालीहरुमा कोरोनाको संक्रमणको जोखिम र यसको संवेदनशिलतालाई उनीहरुले बुझन नसकेको देखिन्छ। यतिबेला विश्वका विकसित देशहरुले समेत कोरोनाको महामारीलाई नियन्त्रण गर्न सकिरहेका छैनन्। 

स्वाव परीक्षण गर्ने किटको अभाव भेन्टिलेटरको अभाव र अस्पतालको अभाव यतिबेला हरेक देशले समाना गर्नुपरेको समस्या हो। त्यसैले यतिबेला सरकारको निर्देशनलाई अवज्ञा गर्ने ,आलोचनामा समय खर्चनेभन्दा पनि भोलि आइपर्न सक्ने जोखिम नियन्त्रणको लागि के गर्न सकिन्छ भन्ने विषयमा हरेक तह र तप्काबाट सोच्नु जरुरी देखिन्छ।

स्वास्थ्य जस्तो संवेदनशिल विषयमा सरकारले पनि राजनीति गर्दै कमिसनको चक्करमा लाग्नु जस्तो अपराध अर्को हुन सक्दैन भने आम नागरिकले पनि कोरोनाको संक्रमण नियन्त्रण गर्नको लागि सरकारको निर्देशनलाई पूर्णरुपमा पालना गर्न जरुरी छ। अन्यथा यतिबेला अमेरिका जस्तो देशले कोरोनाको संक्रमणबाट मर्नेहरुको लाश थुपार्ने ठाउँ नभएर पार्कमा जम्मा गर्ने तयारी गर्दैछ भने हाम्रो देशको हविगत के होला?  यसकाे कल्पनासमेत गर्न सकिँदैन। 

उच्चपदस्थ कर्मचारीलाई सीमित स्रोत र साधनका बाबजुद नेपाल सरकारले कोरोना संक्रमणको नियन्त्रणको लागि चालेको प्रयास उत्कृष्ट लागेको होला तर आम जनताको मनमा एक प्रश्न कायमै छ। त्यो हो, ‘क्वारेन्टाइनमा बस्नेहरुले त लकडाउनको अवज्ञा गर्दै मेला हेर्न जान्छन् भने क्वारेन्टाइनमा नबसेकाहरुलाई टेष्ट गरेर चिकित्सकको सम्पर्कमा ल्याएर कोरोना परीक्षण गर्न कत्तिको सम्भव होला’?

प्रकाशित मिति: : 2020-04-08 15:49:28

प्रतिकृया दिनुहोस्