आगामी सातादेखि भरी सिलिण्डर ग्यास वितरण गरिने

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल आयल निगमले भरि ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ।

निगम सञ्चालक समितिको बुधबारको बैठकले आइतबारदेखि १४.२ किलो (पूरै भरिएको) को सिलिण्डर ग्यास बिक्री वितरण खुला गर्ने निर्णय गरेको हो। 

निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले बताए। ‘बजारमा भएका आधा सिलिण्डर बिक्री सकिएपछि आइतबारबाट  भरी सिलिण्डर ग्यास बिक्री हुने छ,’उनले भने। 

कोरोना भाइरसको संक्रमणको सन्त्राससँगै बजारमा ग्यासको अभाव हुन थालेपछि सरकारले व्यवसायीहरुलाई चैत १२ गते बेलुकी आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको थियो। 

तर अहिले बजारमा ग्यासको अभाव हट्न थालेको छ । उपभोक्ताहरुले भारतका नाका बन्द हुने र ग्यास नपाइने भन्दै यस अघि आवश्यकता भन्दा बढि मौज्दात गरेकाले बजारमा अभाव देखिएको थियो । लकडाउनमा पनि ग्यास सहजरुपमा आपूर्ति भइरहेकाले तथा उपभोक्ताले ग्यास खपत कम गर्न लागेपछि बजारमा ग्यासको अभाव हटेको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

यो अवस्थामा पनि ग्यास पर्याप्त मात्रामा बजारमा आइरहेको र ग्यासको माग कमि भएकाले अहिले अधिकांश उद्योगहरुको भण्डारण भरिएको र नयाँ राख्ने ठाउँ नभएकाले बुलेटमै राख्नु पर्ने बाध्यता सिर्जना भएको उनले बताए ।

 


 

प्रकाशित मिति: : 2020-04-08 17:01:42

प्रतिकृया दिनुहोस्