लकडाउनको मारमा दूध व्यवसाय(भिडियाेसहित)

जिल्लामा सबैभन्दा बढी दूध उत्पादन गर्ने उद्यमी हुन, गुठीचौर गाउँपालिका–५ धिताका विष्णु धिताल। पछिल्लो समय विश्वभरि फैलिएको कोरोना भाइरसको माहामारीका कारण देश ‘लकडाउन’ भएपछि उनको व्यवसाय नराम्ररी प्रभावित भएको छ। सरकारले तेस्रो पटकको ‘लकडाउन’ अझै कडा गर्ने निर्णय गरेसँगै गाउँगाउँमा त्रास झन् बढेको छ। गाउँमा नयाँ मान्छे आउने तथा गाउँबाट बाहिर जानसमेत अवरोध सिर्जना हुन थालेको छ। यसै कारण उनी दूध बेच्न निस्कन नसकिने अवस्था पुगेका छन्। 

गुठीचौर गाउँपालिकाले प्रवेश निषेध गरेपछि पालिकामा मान्छे आउन र जान रोक लगाइएको छ। वडा नं–५ ले पनि गाउँपालिकाको निर्णय कार्यान्वयन गर्न मुल बाटोमै बार लगाएर आउजाउ बन्द गरेकाे छ। जसका कारण धिताल दूध बेच्न बजार जान सकिरहेका छैनन्।

उनले हरेक दिन झण्डै चालिस लिटर दूध बजारमा बिक्री गर्दै आएका थिए। ‘लकडाउन भएपछि आधाभन्दा बढी दूध बिक्री हुन छोड्यो। अवस्था यस्तै छ’, निराश उनी भन्छन्, ‘अब त पुरै दूध खेर जाने भयाे बुधबार बिहानै दूध बेच्न जाने बेला बाटोमा बार बारेर वडाका मान्छेले बजार जान दिएनन्।’ 

हाल उनको गोठमा १२ वटा भैंसी छन्। २१ वर्षअघि एउटा भैंसीबाट व्यवसाय थालेका उनी जिल्लाको एक नम्बर उद्यमी मानिन्छन्। निकै लामो समय दुःख, कष्ट झेल्दै सफलता हासिल गरेका उनी यति बेला तनावमा छन्। ‘जंगलतिर लिएर छाडा छोडौं भने घाँस पलाइसकेको छैन। भैंसी कटाउनलाई बेचौं भने पनि यस्तो अवस्थामा मान्छे तयार छैनन्। एक दुई भैंसी र दुई चार लिटर दूध भएको भए गाह्रो थिएन। के गरौं र कसो गारौंको स्थितिमा छु म त,’ उनले निराशा पोखे। 

एकातिर कोरोना भाइरसको त्रास बढेको छ भने अर्कोतिर व्यवसाय धरापमा पर्दा त्रासले सीमा नाघेको छ। ‘भाइरस सर्ने डरले आधा बढी ग्राहक घटिसके। डेरीवालाले लिने दूध पनि आधा घटिसक्यो,’ उनले भने, ‘नाफा छोडेर भैंसीको दानापनीको लागि मात्रै भएपनि दूध बेच्न गइरहेको थिए। वडामा अवरोध भएपछि त्यहि आश पनि मर्‍यो।’ 

देशमा भएको लकडाउनले धरैजसो व्यापारी मारमा परेका छन्। अत्यावश्यक सेवा सुविधाका व्यवसाय बन्द छन् भने व्यक्तिगत दूरी बढाउनु पर्ने भएकाले व्यवसायीलाई गाह्रो भइरहेको छ।

यसरी मर्कामा पर्नेमा धिताल पनि एक हुन। बिहान ‘लकडाउन’ खोल्ने बेलामा वडाका केही मान्छे आएर लामाकार नजिकै रुख ढालेर बार लगाई बजार जान निषेध गरे। धितालले प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे, पशु सेवा कार्यालयका हाकिम लगायत सबैलाई आफू मर्कामा परेको सुनाइसकेका छन्।

सरोकारवालाले अवरोध हटाउने बचन दिएका छन्। तर समस्या सारा संसारको भएकाले आफूलाई मात्र निकास दिनुपर्‍यो भन्ने मानसिकता नबनाएको उनले बताए। 

विश्व स्वास्थ्य संगठनले संसारभरि त्रास सृजना गरेको कोरोना भाइरसबाट बच्न रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाउने खालका खान सुझाइरहेको बेला धितालको दूध व्यवासाय प्रभावित भएको हो। ‘कसरी हुन्छ सुरक्षित हुने उपाय बताइदिनु पर्‍यो। म त्यहि गर्न तयार छु,’ उनले भने, ‘उत्पादन भएको दूध उही दिन बिक्री भएन भने बिग्रन्छ। घरमा दही बनाउने ठूला भाँडा छैनन्। यस्तो अवस्थामा दही पनि बिक्री हुँदैन। हामीलाई कसैले क्षतिपूर्ति दिने पनि होइन।’

त्रास बढेसँगै गाउँगाउँमा बार लगाउने पनि बढेका छन्। अत्यावश्यक काममा परेको बेला सुरक्षित रुपमा बाहिर निस्कन पाइने भएपनि पछिल्लो समयमा समाजिक सद्भावमा खलल ल्याउने मानसिकताको निर्माण भइरहेको छ। यसैको मारमा छन्, धिताल जस्ता साना उद्यमी।
 

प्रकाशित मिति: : 2020-04-09 13:10:02

प्रतिकृया दिनुहोस्