बाँकेमा ‘र्‍यापिड डाइग्नोस्टिक किट’मार्फत काेराेना परीक्षण शुरु

प्रदेश नम्बर ५ को बाँकेमा र्‍यापिड डाइग्नोस्टिक किट (आरडीटी) बाट कोभिड–१९ को परीक्षण गर्न शुरु गरिएको छ। शुक्रबारदेखि जिल्लामा आठ वटै स्थानीय तहमा स्थपना गरिएका क्यारेन्टाइनमा रहेका व्यक्तिहरुको ‘र्‍यापिड डाइग्नोस्टिक किट’ मार्फत कोरोना परीक्षण गर्न थालिएको हो।

पहिलो चरणमा जिल्लाका विभिन्न क्यारेन्टाइनमा रहेका व्यक्तिहरुको नमुना संकलन गरेर किटबाट कोरोना परीक्षण गर्न सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। 

कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठकाअनुसार १४ दिन क्यारेन्टाइनमा बसेकाहरुको र्‍यापिड डाइग्नोस्टिक किटको सहायताले कोरोना परीक्षण गरिनेछ। ‘ भारत तथा तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा १४ दिन सकेकाको नमुना परिक्षण गरिनेछ, शुक्रबारबाट औपचारिक रुपमा काम भइसकेको छ’ उनले भने।

फोकल पर्सन श्रेष्ठले पहिलो दिन जिल्लाको बैजनाथ गाउँपालिकाको क्यारेन्टाइनमा बसेका दुई जनाको र्‍यापिड डाइग्नोस्टिक किट मार्फत कोरोना परीक्षण गरिएको थियो। ती दुवै जनामा कोरोना भाइरस ‘नेगेटिभ’ देखिएको उनको भनाई छ  । परीक्षणको क्रममा कोरोना ‘पोजिटिभ’ देखिए निज व्यक्तिलाई पुनः क्यारेन्टाइनमा राखिने र  पिसिआर प्रविधिबाट एकिन गर्न परीक्षणका लागि ‘थ्रोट स्वाव’ नमुना निकाली प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइने फोकल पर्सन श्रेष्ठले जानकारी दिए। यो प्रवविधिबाट कोरोना भाइरस नेगेटिभ देखिएका व्यक्ति अनिवार्य रुपमा घर मै ७ दिन ‘होम क्वारेन्टाइन’मा बस्नुपर्नेछ। 

प्रदेश सरकारको सहयोग जिल्ला स्वास्थय कार्यालयलाई अहिले ५ सय सेट र्‍यापिड डाइग्नोस्टिक किट उपलब्ध भएको छ। बाँकेबाट अहिलेसम्म ७० जनाको ‘थ्रोट स्वाव’ संकलन गरी कोरोना परिक्षणका लागि पठाइएको छ। जसमध्ये शुक्रबारसम्म ६४ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार बाँकेबाट संकलन गरीएका ७० जनाको ‘थ्रोट स्वाव’ परिक्षण गर्दा ६४ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ भने अन्य ६ जनाको रिपोर्ट आउन बाँकी छ। जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार जिल्लाका आठ स्थानीय तहमा रहेका १७ वटा क्वारेन्टाइनमा सम्म ४ सय ८८ मानिसहरु रहेका छन्। भारत लगायतका तेस्रो मुलुकबाट आएका ४६ महिला र ४४२ जना पुरुषलाई क्यारेन्टाइनमा राखिएको छ।
 

प्रकाशित मिति: : 2020-04-11 12:02:31

प्रतिकृया दिनुहोस्