लकडाउनमा नयाँ वर्ष २०७७ {तस्बिर र भिडियो}

नेपालीहरूको नयाँ वर्ष २०७७ सोमबारदेखि सुरू भयो। नयाँ वर्षको अघिल्लो दिन र नयाँ वर्षमा देशैभरी विविध कार्यक्रमसहित हर्सोल्सास तरिकाले मनाउने चलन थियो।

पर्यटकीय क्षेत्रका होटल र रेष्टुरेन्टहरू २४ सैं घन्टा खुला हुन्थे। आन्तरिक र बाह्य पर्यटकले पर्यटकीय स्थानहरू भरिभराउ हुन्थे। नेपाली नयाँ वर्षको इतिहासमा पहिलो पटक नयाँ वर्ष फरक रूपमा मनाइयो।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगाउन सरकारले स्रोत र साधनले भ्याएसम्म सम्भव भएका सबै संयन्त्र प्रयोग गरेको छ।

विगत तीन सातादेखि जारी राखेको लकडाउनका कारण सबै बजार पसल सुनसान छन्। देशभरी सन्नाटा छाएको छ।

यही सन्नाटाको विचमा आएको नयाँ वर्ष पनि लकडाउनमा पर्‍यो। नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्षको साँझ यो संवाददाता काठमाडौंका अति व्यस्त मानिने न्यूरोड, दरबारमार्ग, ठमेल, लाजिम्पाटलगायतका क्षेत्रमा पुग्दा सुनसान सहरले नयाँ वर्षलाई स्वागत गरिरहेको थियो।

प्रायः चैत ३० गते देखिनै ‘न्यू इयर इभ’ मनाउन विभिन्न गन्तब्य जाने नेपाली नागरिक यस वर्ष घरमै बसेर परिवारसँग मनाएका छन्।

सधै खुट्टा राख्न नमिल्ने दरबारमार्ग, ठमेलको सञ्चय कोष, त्रीदेबी मार्ग, नर्सिङ चोक, ठमेल चोक, ठहिती , ज्याथा चोक, छेत्रपाटी, सात घुम्ती, चाक्सिबारी, जेड स्ट्रीट लगायत क्षेत्र नयाँ वर्षको साँझ सुनसान थियो।

झकीझकाउ सजिएर सडक भरी फुड फेस्टिवल हुने यी चोक र सडक सबै कोरोनाको महामारीले मृत्यु भएका मानिसको शोकमा थिए। संक्रमित भएका लाखौ व्यक्तिको सिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका थिए।

विश्व स्वास्थ्य संगठनमा अनुसार कोरोना महामारीबाट यो समाचार तयार पार्दा सम्म विश्वभर १९ लाख ३५ हजार भन्दा बढी संक्रमित छन्। साथै १ लाख २१ हजारभन्दा बढी मृत्यु भइसकेको छ। यद्यपी ४ लाख ५७ हजार भन्दा बढी उपचार पछि निको भएर घर फर्किएका छन्।

नेपालमा पनि हालसम्म १६ संक्रमित फेला परिसकेका छन्। १ जनाको उपचार सफल भएर घर गइसकेका छन्।

यस्तो विश्वभर महामारी र कोलाहल बिच नेपाली मात्रले कसरी नयाँ वर्षमा खुसी र उल्लास मनाउलान् र खै। केही छैन कोरोना विरूद्धको लडाई जितेको दिन नेपालीसँगै सारा विश्वले नयाँ वर्ष मनाउनेछन्। त्यो हुनेछ हर्सोल्लास र सौहार्दपूर्ण। आशा गरौं अंग्रेजी नयाँ वर्षले ल्याएको उपहार नेपाली नयाँ वर्षले तोडिदेओस्। सबैलाई नयाँ वर्षको शुभकामना।

प्रकाशित मिति: : 2020-04-14 23:15:00

प्रतिकृया दिनुहोस्