नेपालमै पहिलो पटक वीरगन्ज कारागारमा कोरोनाको आरडिटी परीक्षण

वीरगन्ज कारागारमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन भन्दै कारागार आउने नयाँ कैदीबन्दी तथा थुनुवालाई शुक्रबारदेखि र्‍यापिड डाईनोष्टिक टेष्ट (आरडिटी) परीक्षण पछि मात्रै कारागार भित्र प्रवेश गराउन थालेको छ।

वैशाख २ गतेदेखि अदालती काम कारवाहीले तिब्रता पाएका छन्। लकडाउनका कारण अवरूद्ध मुद्दाहरू फैसला हुने क्रम बढेसँगै वीरगन्ज कारागारमा आउने थुनुवा तथा कैदीबन्दीको संख्या बाक्लिएका हुन्। यो सँगै कारागार भित्र कोरोना भाईरस भित्रन सक्ने आशंकामा कैदीबन्दी चिन्तित थिए।

गत बैशाख २ र ३ गते बारा र पर्साका जिल्ला अदालत तथा उच्च अदालतको अस्थायी इजलास वीरगन्जबाट फैसला भई आएका १८ जना नयाँ थुनुवालाई कारागार प्रवेश गर्ने बेलामा आरडिटी गरेर मात्र भित्र प्रवेश गराइएको हो।

कारागार भित्र नयाँ कैदीबाट कोरोना भाईरस सर्नसक्ने सम्भावना रहने भन्दै यसलाई निराकरण गर्न पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की र नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायको समन्वयमा वैठकबाट यस्तो निर्णय भएको वीरगन्ज कारागारका प्रमुख श्रवण कुमार पोखरेलले जानकारी दिए।

‘तत्कालका लागि कारागारमा ५० थान र्‍यापिड डाईनोष्टिक टेष्ट किट ल्याईएको र नयाँ थुनुवा तथा कैदीबन्दीको परीक्षण शुरु भएको छ’, पोखरेलले बिएल नेपाली सेवासँग भने, ‘परीक्षणको क्रममा नेगेटिभ आउनेलाई कारागार भित्र प्रवेश गर्न दिईने र पोजेटिभ रिपोर्ट आएमा नारायणी अस्पतालको आईसोलेशनमा पठाईने  छ।’

हाल वीरगन्ज कारागारमा १२ सय ८७ जना कैदीबन्दी छन्। जसमध्ये ९५ जना महिला र ३ जना बालबालिका रहेको वीरगंज कारागारका चौकिदार दिनेश साह सोनारले बताए।

नेपालमै पहिलो पटक वीरगन्ज कारागारबाट नयाँ थुनुवाको पनि कोरोना भाईरस परीक्षण सुरू भएको हो।

यो सँगै भित्र रहेका पुराना कैदी बन्दीसमेत ढुक्क भएको चौकिदार सोनारले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-18 19:41:59

प्रतिकृया दिनुहोस्