शुक्रबार, ११ जुलाई २०२५

विगतमा अपराधिक दुनियाँकाे सरसफाइ गरेँ, अब राजनीतिकाे फाेहाेर सफा गर्छु– सर्वेन्द्र खनाल (भिडियाेसहित)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2022-10-17 08:35:00
BreaknLinks
• • •

नेपाल प्रहरीका पूर्व आइजीपी तथा नेकपा (एमाले) नेता हुन्, सर्वेन्द्र खनाल

उनले आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडाैँ क्षेत्र नं. ६ बाट उम्मेदवारी दिएका छन्।  ३० वर्षसम्म नेपाल प्रहरीमा रहेर देश र जनताकाे सेवा गरेका खनाल गत असाेज ६ मा एमाले प्रवेश गरेका थिए। एमाले प्रवेश लगत्तै उनले चुनावी मैदानमा भिड्ने अवसर पनि प्राप्त गरे।

यसरी लामाे समय राष्ट्रसेवककाे रूपमा काम गरेर अवकासकाे जीवन बिताउनुपर्ने समयमा राजनीतिमा हाेमिएका खनालसँग बिएल नेपाली सेवासँग कमल प्रभात विकले गरेकाे कुराकानीकाे सम्पादीत अंश प्रस्तुत छ:


प्रतिनिधि सभा सदस्यकाे लागि तपाईंको उम्मेदवारी किन ?

रिटायर्डसम्म पनि देश र नागरिककै सेवा गरेको हो। रिटायर्डपछि पनि सहज जीवन नै बिताउने भन्ने नै थियो। तर, अब हेर्दै जाँदा राजनीतिका जुन परिदृश्यहरु देखा परे र विगतमा पनि आफू सेवामा रहँदै गर्दा राजनीति पनि बुझ्ने काम त भयो। कहाँ के छन् भन्ने कुराहरु धेरै नै अनुभव लियौँ। देश विदेशको अनुभव गर्ने पनि मौकाहरु पनि मिले। बाहिर विगतमा जुन देश द्वन्द्वमा थिए ती देशहरू पनि विकसित छन भने हाम्राे जस्ताे प्राकृतिक स्राेतले धनी देशमा यसकाे प्रयाेग नभएकाे र राजनीतिकाे नाममा धेरै राजनीति मात्रै हुने विकास र समृद्धिमा ध्यान नपुगेकाे वातारण बनिरह्याे, नेपाल र नेपालीकाे जीवनस्तर साह्रै नै गरिबीकाे अवस्थामा पुग्याे। त्यसकारण अब याे देशका नागरिककाे मुहार हँसिलाे बनाउने र अन्तर्राष्ट्रिय जगतमा नेपाललाई समृद्ध बनाउने तर्फ मैले भूमिका खेल्न सक्छु भनेर फेरि पनि देश र जनताकाे सेवामै राजनीतिलाई लिएर अगाडि बढ्दै छु।

हिजाे पनि जनताकाे सेवामै तल्लिन थिएँ, यसपछि पनि राजनीतिकाे माध्यमबाट समृद्ध नेपाल सुखी नेपाली बनाउने महान संकल्प अनुसार राष्ट्र र राष्ट्रियताकाे हिसाबले याे उपयुक्त हुन्छ भन्ने लागेर यसमा प्रवेश गरेकाे छु। र, मलाई लाग्छ याे गन्तव्यमा पुग्न सकिन्छ।

तपाईंका चुनाव जित्ने आधारहरू के–के हुन् ?

एक त म यहीँकाे बासिन्दा हुँ। धेरै पहिलादेखि पढेकाे, हुर्किएकाे, यहीकाे समुदायसँग भिजेकाे र यहाँकाे वस्तुगत समस्याका विषयमा जानकार रहेकाेले। र, यहाँ सामान्य कामहरूमा पनि जनताले राहत पाउने विषय पनि छैनन्। सरसफाइ, बाटाेघाटाे छैन, पानीकाे व्यवस्था छैन, राेजगारीकाे कुरै नगराैँ मानिसहरू काम नपाएर विदेशमा भाैतारिनु परेकाे छ। सबै सामान्य कुराहरूकाे व्यवस्थापन गरेर एउटा संकल्पका साथ अगाडि बढ्दा देशमा गर्न सकिन्छ तर त्याे नगरिएकाे हुनाले पहिलादेखि नै मनमा छाेएकै हाे।

त्यसमा पनि देश र नागरिककाे सेवामा रहेकै थिएँ। यसपछि पनि केही कुराहरू गर्नुपर्छ, मेराे आफ्नाे अनुभव, याेग्यता र क्षमताले म याे काम गर्न सक्छु र सबैलाई मिलाएर जनप्रतिनिधिकाे हिसाबले म एमालेकाे उम्मेदवार हुँदै गर्दा पनि उपयुक्त रूपमा मैले अङ्गिकार गरेर गएँ। आइजीपी हुँदै गर्दा नेपाललाई जसरी विश्वसामु चिनाएँ, त्यसैगरी राजनीतिक वृत्तबाट पनि नेपाललाई सेवा प्रवाहदेखि लिएर विकास र समृद्धिकाे रूपमा अगाडि बढाउनकाे लागि काम गर्ने छु। र, याे ६ नं. क्षेत्रमा त झन विशेष केन्द्रित भएर समन्वय गर्न सक्छु भन्ने विश्वास छ। त्याे पक्कै पनि गर्छु र त्याे वाचा गर्नका लागि म अगाडि उभिएकाे छु।

मेरा आधार र याेजनाहरू छाेटाे समयमा धेरै राख्ने विषयहरू पनि छैनन् तर यी यावद् क्षेत्रमा पर्यटकीय, सामाजिक/सांस्कृतिक दृष्टिकाेणले तिनीहरू पनि प्रवर्धन गर्नुपर्ने अवस्था पनि छ। र, सँग सँगै प्रजातन्त्र र लाेकतन्त्रलाई संस्थागत गर्ने विषयमा जब जनताले याे व्यवस्थाबाट राम्राे सेवा पाउँछन् अनि राष्ट्रियताप्रति सम्मान बढेर आउने हुन्छ त्यसतर्फ पनि केन्द्रित रहेर सबैले रूचाएकाे व्यक्तिकाे रूपमा अगाडि आउन चाहन्छु। र, प्रस्तुत गर्छु पनि।

एमालेसँगै अरू दलका कार्यकर्ताहरूले पनि साथ दिन्छु भन्नुभएकाे छ ?

भन्नु भएकाे छ। राष्ट्रियता, समृद्धि र विकासबारे एमालेले लिएकाे विचार मलाई मन पराउनु भएकाे छ। अध्यक्ष केपी ओलीज्यूले जुन संकल्प राख्नुभएकाे छ त्यसमा म आफैं पनि समाहित हुन चाहेँ किनभने राजनीतिक भनेकाे मुल रूपमा नागरिककै सेवा हाे नि त। उत्कृष्टमध्येमा सर्वाेउत्कृट बन्नुपर्छ भन्ने हाम्राे धारणा हाे।

अरू नेताहरू र तपाईंमा के फरक छ ?

मैले विगतमा गरेका क्रियाकलापहरू, मैले कार्यसम्पादन गरेका विषयहरू धेरैले बुझ्नु भएकाे छ। रूल अफ मेन्टेन गर्ने कुरामा, साेसाइटीमा अर्डर मेन्टेन गर्ने कुरामा, अन्तराष्ट्रिय क्षेत्रमा नेपाली प्रहरीकाे स्तर चिनाउने कुरामा, प्रहरीकाे माेडाेलाइजेसन गर्ने कुराहरूमा, म आइजीपी हुँदै गर्दा जनताकाे बिचमा ल्याएकाे सामुदायीक प्रहरी साझेदारीकाे कार्यक्रम हेर्न सक्नुहुन्छ। हरेक जनताकाे पिर मर्काका विषयमा काम गर्ने र विकासका लागि सम्बन्धित नियकायमा सहयाेग गर्ने विषयमा जुन विगतमा काम गरेँ भाेलिकाे जनताले चाहेकाे पनि त्यही हाे। तर, पहिलाका नेताहरूले त्याे गर्न सक्नुभएन अब मैले गर्छु। ६ नं. क्षेत्रका मानिसहरूकाे मुहार हाँसाे ल्याउँछु।

राजनीति गरेर आएका नेताले भन्दा तपाईंले बढी गर्न सक्ने कुराहरू के–के हुन् ?

जसरी मैले हिजाे अपराधकाे दुनियाँमा आफूलाई घर, परिवार नभनि उत्सर्गकाे रूपमा काम गरेँ त्यसरी केही समय राजनीतिमार्फत नेपालीकाे सपना पूरा गर्ने छु। मैले विगतमा अपराधिक दुनियाँमा सरसफाइ गरेँ, अब राजनीतिकाे फाेहाेरकाे पनि सरसफाइ गर्छु।

भिडियाे:

सर्वेन्द्र खनाल राजनैतिक मैदानमा ओर्लिँदा किन टाउको दुखाइ?

सर्वेन्द्र राजनीतिमा आउँदैमा काेहि आत्तिनुपर्दैन !

मेराे उम्मेदवारी देशमा सुशासन कायम गर्नकाे लागि– सर्वेन्द्र खनाल (भिडियाेसहित)

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?