लकडाउनका बेला अध्यदेशमार्फत् पार्टी फुटाउन सजिलो बनाउँदा नेकपाभित्र हल्लीखल्ली, आकस्मिक डाकियो सचिवालय बैठक 

मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत् दल त्यागसम्बन्धी व्यवस्थालाई हेरफेर गरी केन्द्रीय समिति वा संसदीय दलको ४० प्रतिशतको समर्थनमा दल त्याग गर्न पाउने बनाएपछि नेकपाभित्र हल्लिखल्ली भएको छ ।

पार्टी सचिवालयभित्र यसअघि छलफलसमेत नभएको व्यवस्था एकाएक भएपछि नेकपाभित्र हल्लिखल्ली भएको हो । यसैबारे छलफल गर्न पार्टी सचिवालयको बैठक बालुवाटारमा अहिले साढे ५ बजे डाकिएको छ ।

मन्त्रिपरिषद् स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले आज बसेको मन्त्रिपरिषद् बैठकमा केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत पुगेपछि मात्र दल फुटाउन सक्ने व्यवस्थालाई हेरफेर गर्न अध्यादेश जारी गर्ने प्रस्ताव राखेका थिए । बैठकमा साविक एमालेका मन्त्रीहरू मौन भए पनि उर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए, ‘प्रधानमन्त्रीज्यू, यो यतिबेला किन ?’  

प्रधानमन्त्रीले सहज जवाफ दिएका थिए, ‘यो लोकतन्त्रलाई बलियो बनाउन हो । अब लकडाउन पनि खुल्ला हुँदै जान्छ । यसले लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउँछ ।’ पुनले दोहोर्‍याएर पनि प्रश्न गरेको स्रोतको दाबी छ । त्यसपछि कृषिमन्त्री घनश्याम भुसालले पनि उपयुक्त समय नभएकाे बताएका थिए ।

मन्त्रिपरिषद् बैठक सकिएलगत्तै मन्त्री पुन कार्यकारी अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा पुगेका छन् भने उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् । केहीबेरमै बालुवाटारमा सचिवालय बैठक पनि बस्दैछ । 

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले यो तत्कालै नेकपा वा अन्य कुनै दलमा परिणाम देखिने गरी नल्याइएको बताए । उनले भने, ‘यो पहिलो संविधानसभाका बेला अन्तरिम संविधान संशोधन गरी केन्द्रीय कमिटी र संसदीय दल दुबैमा ४० प्रतिशतको समर्थन जुटाएर मात्र पार्टी फुटाउन सक्ने व्यवस्था गरिएको थियो । संविधानसभाले संविधान बनाउँदा पनि त्यसलाई नै ल्याइएको थियो । अहिले सच्याइएको मात्र हो । यसमा कुनै शंका गर्नु पर्दैन।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि यसबारे सशंकित हुन जरुरी नभएको बताउँदै भने, ‘यसबारे अहिले बस्ने सचिवालय बैठकमा छलफल हुन्छ । कोही मन्त्री कार्यकारी अध्यक्षलाई भेट्न जानु स्वाभाविक हो ।’

प्रकाशित मिति: : 2020-04-20 17:35:35

प्रतिकृया दिनुहोस्