भारतीय क्रिकेटका हस्ती सचिन तेन्दुलकरले भारतमा फैलिदै गरेको कोरोना भाइरसका कारण आफ्नो जन्मदिन नमनाउने घोषणा गरेका छन्। सचिन शुक्रबार ४७ वर्षमा प्रवेश गरेका छन्।
उनले कोरोनाविरूद्ध अघिल्लो मोर्चामा रहेर युद्ध लडिरहेका चिकित्सक र सुरक्षाकर्मीको सम्मानमा जन्मदिन नमनाउने घोषणा गरेका हुन्।
भारतका पूर्व कप्तान सचिनको जन्म २४ अप्रिल १९७३ मा मुम्बईमा भएको हो। उनले यो महामारीबाट लड्न सरकारलाई ५० लाख रुपैयाँ दान गरिसकेका छन्। सचिनले आफ्नो करिअरमा २ सय टेस्ट र ४ सय ६३ एकदिवसीय खेलेका छन्। उनले २०१२ मा एकदिवसीयबाट सन्यास लिएका थिए। उनको नाममा क्रिकेटमा सय सतक बनाउने र सबैभन्दा बढी रन बनाउने कीर्तिमान छ। सचिनले एकदिवसीयमा १८ हजार ४ सय २६ रन बनाएका छन्, जसमा ४९ सतक समावेश छ। यस्तै, टेस्टमा ५१ सतकको सहयोगले १५ हजार ९ सय २१ रन बनाएका छन्।
उनले ‘लकडाउन’ को अवस्थामा भारतका १२ हजार डाक्टरसँग सोशल मिडियाबाट कुरा गरेका थिए।