राष्ट्र बै‌ंकको निर्देशन: कोरोना प्रभावित ऋणीलाई २ प्रतिशत ब्याज छुट दिनू

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन बै‌ंक तथा वित्तीय स‌ंस्थाहरुलाई निर्देशन दिएको छ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि मंगलबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुका लागि ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको हो।

राष्ट्र बैंकको ६५ औं वार्षिकोत्सवका अवसरमा लिखित मन्तव्य सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले चौथो त्रैमासको ब्याजमा सहुलियत दिने घोषणा गरेका थिए। 

साेही अनुसार चैत मसान्तसम्मको कायम ब्याजदरमा चौथो त्रैमास अर्थात वैशाख, जेठ र असारको ब्याजमा छुट दिन राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरेको हो।

कसले पाउँछन् ब्याज छुट ?

यो सहुलियत सबै ऋणीहरुले भने पाउने छैनन्। राष्ट्र बैंकका अनुसार यो सहुलियत पाउन कोरोनाबाट प्रभावित भएकै हुनुपर्नेछ।

होटल, रेष्टुरेन्ट, ट्रेकिङलगायतका पर्यटन क्षेत्र, हवाई उड्डयन तथा सार्वजनिक यातायात क्षेत्र र निर्यात उद्योगहरुले यो सुविधा पाउने राष्ट्र बैंकले बताएको छ।

खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेसन, साबुन तथा केमिकल उद्योगले यो सुविधा पाउने छैनन्।

यसैगरी मेडिकल पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले समेत यो सुविधा नपाउने राष्ट्र बैंकले बताएको छ।

प्रकाशित मिति: : 2020-04-28 18:42:25

प्रतिकृया दिनुहोस्