कोरोनापछिको नेपाली पर्यटन उद्योग र अबको हाम्रो रणनीति

कोरोना महामारीले सम्पूर्ण अर्थब्यवस्थामा नकारात्मक असर परिरहेको कुरा जगजाहेर नै छ। अन्य उद्योगधन्दा कोरोनाको फैलावट बिस्तारै कम भएसँगै आफ्नो लयमा  फर्कने छन्। तर पर्यटन उद्योग आफ्नो लयमा फर्कन निकै लामो समय लाग्नसक्छ।

माहामारीले गर्दा आउने केही समयसम्म बाह्य पर्यटक नेपाल आउने सम्भावना निकै कम छ। तसर्थ, हाम्रो पर्यटन उद्योग सामान्य रूपमा चलायमान हुन नितान्त आन्तरिक पर्यटकमा भर पर्नुपर्नेछ। तर कोरोनाको कारणले धेरै नेपालीले आफ्नो  रोजगारी गुमाएको, जेनतेन रोजगारी जोगिएकाको हकमा पनि आयस्तर घटेको, स्वरोजगार अथवा प्रोफेसनलको पनि आम्दानी घटेको हुन्छ। व्यापार ब्यवसाय पनि ठप्प अनि रेमिट्यान्स आप्रवाह पनि घटेकोले  समग्र रूपमा सबै नेपालीको आय कम हुँदै गएको र हालको महामारीबाट आम मानिसमा आपत बिपतका लागि  बचत गर्नुपर्ने चेत खुलेकोले आन्तरिक पर्यटकलाइ आकर्षित गर्न गाह्रो हुनसक्छ।

यस्तो विषम परिस्थितिमा हामी हाम्रो पर्यटन उद्योगलाई कसरी बचाउन सक्छौ त? पर्यटन क्षेत्रले लाखौं नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिरहेको छ। यदि समयमा उचित ध्यान पुर्‍याउन सकिएन भने हाम्रो पर्यटन उद्योग उठ्न नसक्ने गरि लथालिङ्ग हुनसक्छ।

तसर्थ यसमा सरकार तथा निजी क्षेत्र सबैको ध्यान जान जरूरी छ। हाललाई सरकार तथा निजी क्षेत्रले निम्नलिखित रणनितिक योजना तर्जुमा गर्दा हामी यो कहरबाट आफूलाई जोगाइराख्न सक्छौ।

१) आउने केही समयका लागि नाफा भन्दा पनि उद्योगमा टिकिरहने रणनीतिक मुल्य तय गर्नुपर्ने देखिन्छ। हाल तोकिएको दर रेटमा भारी छुट अर्थात सामान्य सञ्चालन खर्च बेहोर्न सक्ने गरि छुटको घोषणा गरौं।

२) हाम्रा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा स्थानीयस्तरका  कृषि तथा पशुपालनबाट उत्पादित खाध्य सामाग्रीमात्र प्रयोग गरौं। महंगो विदेशी सामान प्रयोग नगरौं। दैनिक मेनुलाई किफायती बनाऔं। यसबाट एकातिर कृषि तथा पशुपालन क्षेत्रमा नयाँ रोजगारी श्रृजना हुनेछन् भने अर्को तिर सञ्चालन खर्च कम हुन गई उद्योगले प्रवाह गर्ने  सेवा सुविधा सस्तो हुन गइ आम नागरिकको पहुँचमा पुग्नेछ।

३) घरबाहाल कर सरकारले छुट दिने र घरधनीले १०% देखि २०% सम्म घरबहालमा छुट दिने ब्यवस्था मिलाउ। यसले घरबहाल खर्च मासिक २०% देखि ३०% सम्म कम हुनेछ।

४)  सस्तो दरमा कम्तिमा ५ वर्षे बैंक कर्जाको ब्यवस्था गर्ने र यस्तो कर्जाको ब्याज १ वर्ष पछिबाट मात्र तिर्न मिल्ने गरि ब्यवस्था मिलाउने।

५) चालू आवको सुरूदेखि नियमित पारिश्रमिक कर भुक्तानी गरिरहेका कर्मचारिको हकमा सम्बन्धित संस्थाको मासिक तलब विवरणलाई आधार मानेर उक्त तलबमान को ५०% सम्बन्धित रोजगारदाताले, २५% सरकारले र २५% सम्बन्धित कर्मचारीले बेहोर्ने ब्यवस्था मिलाउँ। सरकारले बेहोर्ने २५% तलब खर्च हालको भिजिट नेपाल २०२० को लागि विनियोजित बजेटबाट ब्यवस्था मिलाउन सकिन्छ। मजदुरको हकमा रोजगारी नै गुम्नुभन्दा  २५% तलब कटौतीको उपाय उचित हुनसक्छ।

६) होटल तथा रिसोर्टका फुर्सतमा रहेका सेफहरू तथा अन्य मजदुरको सिपलाई रोजगारी प्रबर्द्धन गर्न प्रयोग गरौं। उनीहरूलाई होमस्टे तथा गाउँ गाउँमा पाककला तथा पर्यटकको स्वागत सत्कार र ब्यवस्थापन कला सिकाउन प्रयोग गरौं।

७) प्रत्येक महिनाको अन्तिम शनिबार पर्ने गरि हरेक महिना सरकारी तथा अन्य संगठित संस्थाका कर्मचारीलाई कम्तिमा पनि २ दिन बिदा दिने ब्यवस्था गरौं। यसबाट आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सहज हुनेछ।

८) नेपाली नयाँ वर्ष मनाउन कम्तिमा एक हप्ता बिदा दिने व्यवस्था मिलाउँ। यसले उक्त समयमा आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सकरात्मक प्रभाव पर्नेछ।

९) रोजगारी आय भएको प्राकृतिक ब्यक्तिको हकमा निजले आन्तरिक पर्यटनमा गरेको खर्चबाट तोकिएको  निश्चित खर्चलाई उक्त आय वर्षको आयकर गणना गर्दा खर्च समायोजन गर्ने सुविधाको ब्यवस्था गरौं।

१०)  हिमाल आरोहणका सहयोगी तथा पर्यटक सहयोगी अन्य मजदुरलाई ट्रेकिङ रूटहरू निर्माण, मर्मत सम्भार तथा हिमाल सफाइमा लगाउँ। यसले एकातिर मजदुरको रोजगारीको निरन्तरता हुनेछ भने अर्कोतर्फ हाम्रा पर्यटकीय स्थलहरू विस्तारै बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्नेछन्।

११) यो समयमा हाम्रा मठ मन्दिर, पुरातत्विक महत्वका स्थान, पर्यटकीयस्थलको मर्मत संम्भार गरौं। नयाँ नयाँ गन्तब्य स्थलको पहिचान गरौं।

प्रकाशित मिति: : 2020-04-29 18:29:00

प्रतिकृया दिनुहोस्