राहतको नाममा कुहिएको चामल र कम तौल!

वीरगन्ज महानगरपालिकाले राहतका लागि पठाएको चामल गुणस्तरहिन र कुहिएको पाइएको छ।

सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न लकडाउन सुरु गरेको एक महिनापछि महानगरले वडा नम्बर १४ मा दोस्रो पटक पठाएको राहतमा कुहिएको चामल फेला परेको हो।

महानगरपालिकाले टेण्डर आह्वान गरी राहत वितरणका लागि मगाएको चामल गुणस्तरहीन भेटिएपछि सो वडाका जनप्रतिनिधिले नै उक्त चामल फिर्ता पठाएका छन् ।

वीरगन्ज महानगरपालिका १४ पिप्राका अध्यक्ष भरत प्रसाद कुर्मीले दोस्रो चरणको राहतका लागि उपलब्ध गराएको चामल गुणस्तरहीन भएको जानकारी दिए।

महानगरपालिका कार्यालयले बुधबार दोस्रो चरणमा राहत वितरणका लागि न्यु बोलबम राइस मिल र सुरज खाद्य उद्योग गरी दुई ब्रान्डका ९ सय ५० किलो चामल पठाएको उनले  बताए ।

‘महानगपालिकाबाट राहत वितरणको लागि आएको चामल सडेर डल्लो परेको हुँदा खान योग्य नरहेकोले चामल देख्नासाथ फिर्ता पठाएका हौ’, उनले बिएल नेपाली सेवासँग भने, ‘चामलको बोरामा म्याद सहि नतोकिएको र ३० किलोको चामलको बोरा तौल गर्दा २४ किलो ६ सय ग्राम मात्र भेटिएको थियो।’

अध्यक्ष भरत कुर्मीलका अनुसार राहत वितरणका लागि प्याक गर्न खोज्दा चामल बिग्रिएको भेटेपछि फिर्ता पठाईएको हो।

सो घटनाका बारेमा वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले यसमा सप्लायर्सको लापरवाही भएको बताए। यसअघि पनि गुणस्तरहीन चामल फेला परेपछि एक ट्रक चामल फिर्ता गरेको उनले जानकारी दिए।

‘गोदाममा पानी पसेर चामल कुहिएको हुनसक्छ, तर यस्तो चामल वितरणमा मैले रोक लगाएका छु’, मेयर सरावगीले भने, ‘महानगरले खरीद गरेको साढे ४ सय टन भन्दा बढी चामलमध्ये केही ट्रकमा यस्तो कुहिएको चामल फेला परेको जानकारी पाउनासाथ फिर्ता पठाई दिएका छौ।’

मेयर सरावगीले फिर्ता पठाइएको चामल वापत गुणस्तरीय चामल बिहिबार सप्लायर्सबाट आईरहेको र आजै वडामा पठाएर राहत वितरण गरिने भएको छ।

प्रकाशित मिति: : 2020-04-30 09:55:10

प्रतिकृया दिनुहोस्