कोरोना कालले सबैलाई नङ्ग्याइदिएको छ, यही तरिका रहे ठूलो उथलपुथल अवश्यम्‌भावी: स्वनाम साथी (अडियो)

२ करोड मजदुरले आँखा खोलौं

मजदुरका आवाज बुलन्द बनाउने अभियानमा जीवन खर्चिएका कम्युनिस्ट नेता स्वनाम साथी जीवनको ७ औं दशकमा छन् । स्वनाम अहिले पनि मजदुरका पक्षमा निरन्तर आवाज उठाइरहेका छन् । कम्युनिस्ट आन्दोलनको जग बसाउने एक महत्वपूर्ण व्यक्ति स्वनाम कुनै पनि कम्युनिस्ट पार्टीको कार्यकारी भूमिकामा भने छैनन् । सत्ताको चर्को आलोचना नगर्ने उनी व्यवस्थाको विकल्पबारे भने निरन्तर बहसमै छन् । साम्यवादी समाजको आकांक्षी स्वनाम साथी पछिल्लो समयमा सरकारका विविध गतिवधिमा निरन्तर खबरदारी पनि गरिरहेका छन् । उनै स्वनाम साथीसँग अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर​ बिएल नेपाली सेवाका लागि मनीषा अवस्थीले गरेको कुराकानी।

अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भमा अहिलेको अवस्थालाई कसरी बुझ्नुभएको छ?

अहिले संसारभरीको मजदुरहरूको अवस्था हेर्दा मजदुरसम्म सूचनाको पहुँच प्रयाप्त छैन। सञ्चारमाध्यमसमेत सबै मजदुरको पहुँचमा छैनन्। अझ भनौं हाम्रा मजदुर यस्तो ठाउँमा छन् जहाँ मिडियाहरु पुग्नै सक्दैनन्। त्यस कारण मजदुरहरूका आवाज हामीले सुन्न सकेका छैनौं ।

यो कोरोना कालमा मात्रै होइन यो भन्दा अगाडि वा पछाडि पनि दुःख पाउने, हण्डर खाने र धेरै मर्ने मजदुरहरू नै हुन्छन्।  र अहिले कोरोनाको भय र त्रास छ, हामी घरभित्रै ‘ब्याण्ड’ हुनुपर्ने अवस्था छ। यस अवस्थामा पनि सबैभन्दा मर्कामा मजदुरनै छन्। पछिल्लो समय केही सूचनाहरू पायौं, केही तस्बिरहरु आए।  हृदयबिदारक तस्बिरहरुमा गर्भिणी महिलाहरू कयौं दिन बाटोमा भोकै रहेको देखियो। भारतका विभिन्न स्थानबाट फर्केर बीच बाटोमा कयौं दिन अलपत्र परेका मानिसहरू देखियो। यति मात्रै होइन यतिबेला विश्वभरीका मजदुरहरूको अवस्था दयनीय बन्दै गएको छ। यसले हामी कहाँ छौं, हाम्रो विकास के रहेछ भन्ने पुष्टि गर्‍यो। यसकारण अहिले संसारभरीका कुनै पनि स्थानमा मजदुरको हालत ठिक छैन। यो अवस्था रहेसम्म ठिक हुन पनि गाह्रो छ।

तपाईँले भनेजस्तै अहिले ठूलो संख्यामा मजदुरहरू सूचनाको पहुँचभन्दा बाहिर छन्। पहुँचमा भएकाको दर्दनाक अवस्थालाई अहिलेको सरकारले गरिरहेको सम्बोधनलाई कसरी बुझ्नुहुन्छ?

आज मजदुरको चाँडको दिन हो। त्यसकाराण म धेरै आलोचना त गर्न चाहन्नँ। तर, तपाईँले सोध्नुभयो, पहिलो कुरा त उहाँहरूले जसले यो व्यवस्थामा चाहे संसारकै शक्तिशाली देश अमेरिका नै होस्, यस्तै संसारको अग्रिम बाटोमा आएको संसारको दोस्रो औद्योगिक विकास भएको चीन नै किन नहोस्। या अन्तै कतै होस्, यो व्यवस्थाबाट श्रमजीवी जनताले हक अधिकार र सुविधा पाउने भनेको ५ प्रतिशत मात्रै हो। केही देशमा १० प्रशितसम्म सुविधा पाएका छन्। तर अधिकांश देशमा मजदुरले पाउने सुविधा भनेको ५ प्रतिशत मात्रै हो यही कुरा हाम्रो नेपालमा पनि लागू हुन्छ। अहिलेका व्यवस्थाको परिपार्टी नै त्यसरी बनेको छ त्यसैले अचम्म मान्नुपर्ने कुरा छैन। 

यो व्यवस्थाका नाइकेहरुलाई भोट दिएर विश्वास गरेको हामीले नै हो। उहाँहरू जति दोषी हुनुहुन्छ हामी पनि उत्तिकै दोषी छौं। किनभने यो व्यवस्था बनाउने हामी नै हौं। तपाईले बिणा। बजाएर भैँसीले दुध दिने होइन। व्यवस्था हामी लोकतन्त्र ल्याउने हाेइन, पूँजीतन्त्रको राजनीतिक प्रणाली भन्छन् लोकतन्त्रलाई। सार्वजनिक सम्पत्तिलाई निजी बनाउन पाइन्छ भनेर छान्ने, अनि अपेक्षा धेरै गरेर हुन्छ?

मजदुरहरुका दिन फिराउने भन्दै हामीले कयौं कालखण्डमा थरीथरीका आन्दोलनहरु पार गर्‍यौं। अहिले सरकारमा भएकाहरू हामी धेरै काम गर्दैछौं पनि भन्नुहुन्छ। तर, यो व्यवस्थाले ५ प्रतिशत भन्दा बढी मजदुरका लागि गर्न सक्दैन भन्नुभयो। उसो भए अब गर्नुपर्ने के हो त

हामीले भनेकै के हो भने, हाम्रो समस्याहरू मोटामोटी १० वटा कारणले आएका हुन्। ती कारणमा पहिलो, सबैको प्राण रक्षाको आधारभूत आवश्यकता पुरा गर्ने आधार नहुनू। सबै मानिसहरुलार्ई आधारभूत आवश्यकता पुरा गर्ने आधार भए मात्रै कोही मानिस कसैको दासी हुनुपर्दैन। त्यसैले हामी सबै मिलेर एउटा यस्तो व्यवस्था बनाऔं जहाँ सबैको प्राण रक्षाको आधारभूत आवश्यकता पुरा होस्।

खाने, बस्ने, शिक्षा,स्वास्थ्यलगायतका आधारभूत आवश्यकता पुरा गरौं। अर्को कारण असमान सहभागिता हो। यसका लागि हामीले भनेका के हौं भने हरेक व्यक्तिले चाहना राख्यो भने नीति निर्माण तहमा सहभागिता हुनुपर्छ। यो व्यवस्थाको नाम जे राखे पनि हुन्छ। नामले केही फरक पार्दैन। तर मजदुरहरुका नाममा यी दुई वटा आधारभूत कुराहरु पुरा हुनुपर्छ।

अन्य ६ वटा कारणमा शोषण, शासन, उत्पीडन, अन्याय, अत्याचार र असमानताहरु पर्छन्। यी कुराहरुको अनुभूति आम मानिसमा नहोस्। यी कुराको अनुभूति नहुने व्यवस्था पनि हाम्रो आवश्यकता छ। हामी यस्तो कुरा समेटिएको व्यवस्थाको निर्माण गरौं। यसले अहिलेका साहुहरुलाई पनि फाइदा गर्छन्।  यस्तो समाज निर्माणका लागि कार्लमार्क्सले उहिल्यै आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन्।

तपाईँ आफ्नो जीवनकालभरि मजदुरका आवाज लिएर हिँड्नुभयो। अहिलेसम्म मजदुरका जीवनमा के–कस्ता परिवर्तन आएको देख्नुभयो ?

१ सय ४ वर्षे राणाकालमा बेलुकी ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यू लगाइन्थ्यो। राति तोप पड्काइन्थ्यो। त्यो अवस्थामा रात्री व्यवस्था गर्नेहरू कोही पनि हुँदैनथ्यो। बिहान ४ बजेपछि मात्रै मानिसहरु बाहिर निस्कन्थे। त्यो अवस्था गुजार्‍यौं। २००४ सालमा पहिलोपल्ट केही मजदुरले विराटनगरमा हड्ताल पनि गरे। नेपालको आधुनिक राजनीतिको शुरूवात त्यहीबाट भएको हो।

त्यसपछिका सबै आन्दोलनमा, चाहे सात सालको अधुरो क्रान्ति होस् या २०६२/६३ को पूर्ण बुर्जुवा अथवा साहुहरुको क्रान्ति होस्। ती सबै क्रान्तिमा मजदुरको कुराहरू उठे, मजदुर आफैं सहभागी भए। मजदुरकै सहयोगले अहिले हामी यो अवस्थामा छौं। त्यहाँ एउटा शर्त थियो, मजदुरहरुले बोल्न, लेख्न संगठन बनाउन पाउनुपर्छ भन्ने थियो भने अहिलेको बुर्जुवा राज्य सञ्चालनमा पनि सहभागिता होस् भन्ने पनि शर्त थियो। ती शर्तमध्ये केही हामीले पाएका पनि छौं।

त्यसकारण समग्रमा भन्नुपर्दा अहिले हामी मजदुरहरू पहिलेभन्दा निकै राम्रो हालतमा छौं। अहिले हामी बोल्न पाइरहेका छौं, लेख्न पाइरहेका छौं, प्रकाशन गर्न पाइरहेका छौं।  हामी दुःख मुक्त भएका छैनौं तर दुःख विर्सेर आजका दिन हामी हाँसौं। 

मजदुरहरुले आफ्ना दिन ल्याउनका लागि पटक पटक आन्दोलन गरे। तर अझै पनि एक छाक भोकै बस्नुपर्ने बाध्यतामा रहेको सन्दर्भमा अब फेरि मजदुरहरु सडकमा ओर्लिने बेला भएको हो भन्न थालिएको छ, तपाईँलाई के लाग्छ?

यो कोरोना कालले हामी सबैलाई नङ्ग्याइदिएको छ।  सबैभन्दा शक्तिशाली अमेरिकाको हालत के भयो, पश्चिम युरोपको हालत के भयो, जसलाई हामी राजनीतिक भाषामा साम्राज्यवादी देशहरू भन्छौं। अरू धेरै पैसावाल मुलुकको हालत के हो र हामी आफ्नै हालत के हो स्पष्ट देखिएको छ। हामी कसैले पनि अहंकार गर्नुपर्ने केही छैन। हामीलाई नाङ्गै बनाइदिएको छ। नेपालको सन्दर्भमा पुराना समस्या जुन मैले माथि नै भनिसकेँ ती समस्यालाई बल्झाइदिएको छ। मजदुका पुराना घाउ कोट्याइदिएको छ।

योसँगै नयाँ समस्याहरु पनि आइपुगेका छन्।  उदाहरणस्वरुप म दुई वटा कुरा भन्छु। एक, यो पृथ्वीको तापक्रम १ डिग्री सेन्टीग्रेट बढ्यो भने हामी यहाँ बाँच्न सक्दैनौं। र यो तापक्रम बढाउने काम हामी आफैंले नाफाका लागि गरिरहेका छौं। यो काम भोगवादी प्रवृत्ति हामीलाई जति चिज घरमा जम्मा गर्यौं त्यत्ति सन्तुष्टि प्राप्त हुन्छ। यही प्रवृत्ति अथवा भोगवादी प्रवृत्तिका कारण हामीले पृथ्वीको आधा प्राकृतिक साधन नष्ट गरेका छौं, आधा जंगल पृथ्वीको सकेका छौं, दुई तिहाइ पशुपंक्षी नष्ट गरेका छौं, यसैगरी जमिन, पानीलगायतको नष्ट गरिरहेका छौं। यसले के देखाउँछ भने हाम्रा समाजका सबै क्षेत्रका नेताहरुको केही मानिस जसरी बसिरहनुभएको छ त्यसरी पृथ्वीका सबै ७ अर्ब ८० करोड मानिस बस्ने हो भने साढे ४ वटा पृथ्वी चाहिन्छ। त्यो सम्भव छैन।

अहिले आधा पृथ्वी भरिसकियो, यो सोच्नुपर्ने बेला भयो कि भएन? अब त साहुँ पनि बस्न सक्ने अवस्था छैन, मजदुर पनि बस्न सक्ने अवस्था छैन। यस अवस्थाले के भन्छ भने, अब अर्को व्यवस्था चाहियो।

मैले विद्यार्थी कालपछि पहिलोपटक यति सफा काठमाडौं देखेँ। यति सफा हिमालहरू ३० वर्षपछि देखेँ। यस्तो अवस्थामा हामीलाई विकास गर्‍यौं भन्न लाज लाग्दैन? के का लागि हो विकास? कस्तो खाले विकास हो? सोच्ने बेला भएन र?

अब यो बन्दाबन्दी त सिधिन्छ। के फेरी त्यही फाहोरमा फर्किने हो ?

विश्व खाद्य कार्यक्रमले विश्वका ५३ देशमा भोकमरी आउने भनेको छ, त्यसभित्र नेपाल पनि परेको छ। यस्तो अवस्थामा पनि रमाइलो हेरेर बस्ने हो?

यो कुरा सबै नागरिकले सोच्ने बेला आएको छ। नागरिकले सोचेमा सरकारले सोच्न कर लाग्छ। त्यसैले यही तरिका रहे ठूलो एउटा उथलपुथल अवश्यमभावी छ।

अन्त्यमा, अहिलेको अवस्थामा सरकारले के गर्नुपर्ला ? सरकारलाई तपाईको सुझाव के छ ?

पहिलो कुरा कोरोनाकालभरि भाइरस नियन्त्रणका लागि बुद्धि पुर्‍यानुपर्‍यो। देशैभरी ‘लकडाउन’ गरेर साध्य पनि छैन। उहाँहरु एडिबी, विश्व बैंकलगायत सारा संघसंस्थाका बुद्धि लिएर बस्नुभएको छ। अब नागरिकको बुद्धि चाहियो भने कयौं नागरिकहरु सक्षम हुनुहुन्छ। उहाँहरूले सरकारलाई दिनुपर्‍यो। ‘लकडाउन’ को अवधि थपेर मात्रै भएन काम खुल्नुपर्‍यो। अर्को कुरा ‘लकडाउन’ खुलेपछि पनि राहत उपलब्ध गराइदिनुपर्‍यो।

एउटा विशिष्ट अध्यादेश ल्याएर एकदमै अप्ठ्यारोमा परेकाहरुलाई खाद्यान्न लगायतका अत्यावश्यक राहत उपलब्ध गराउनुपर्‍यो।

यसैगरी सारा बाँझा जमिनहरू रोप्नका लागि प्रोत्साहित गर्नुपर्‍यो। त्यसका लागि के के नीति बनाउनुपर्छ बनाऔं।  सके अर्ग्यानिकमा जाने हो नसके आधुनिक खेती भए पनि गरौं। खेती गरेर भारतलाई सस्तोमा बेच्ने नेपालले महंगोमा किन्ने काम बन्द गरौं।

अब यो व्यवस्था समाजवादउन्मुख भनेर पार पाइनेवाला छैन। समाजवाद नै भनेर पनि पार पाइनेवाला छैन। धेरै छन् समाजवादवाला देशहरू। पूँजीवादी समाजवाद पनि छन्, समान्तवादी समाजवाद पनि छन्। यहाँ छिमेकी भारत पनि समाजवादी हो, चीन पनि समाजवादी हो र हामी पनि उन्मुख हो। यसरी ‘वाद’ भनेर अब पार पाइँदैन। होस गरेर सबैले सल्लाह गरेर नयाँ पद्दतिको विकास गर्न जरुरी देखिएको छ।

अहिले नेपालमा काम गरी खानुपर्ने मजदुर २ करोड जतिले सोच्नुपर्ने बेला भइसकेको छ। सबैले आँखा खोलौं।

सुन्नुहोस् अडियो अन्तर्रवार्ता

प्रकाशित मिति: : 2020-05-01 19:49:00

प्रतिकृया दिनुहोस्