थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियान अन्तर्गत बालबालिका केन्द्रित कार्यक्रम ‘कथा खरर, मन हरर...’ सुरु गर्ने भएकाे छ।
लकडाउनको सुरुवाती १६ दिनसम्म ‘क्वारेन्टाइन अभियान भर्चुल थिएटर फेस्टिभल’ आयोजना गरेको यी नाट्य संस्थाले ‘बालबालिकाहरु पनि देख्न, सुन्न, महसुस गर्न र कल्पना गर्न सक्छन्’ भन्ने भावका साग उनीहरुले सुनाएका कथाहरुको कार्यक्रम गर्न लागेको हो ।
बालबालिकाहरु कथा पढ्न, सुन्न र सुनाउन मन पराउने भएकोले लकडाउनमा बालबालिकाको समय सिर्जनशील र उर्जावान बनाउन ‘कथा खरर, मन हरर’ आयोजना गर्न लागिएको हो ।
‘कथा खरर, मन हरर’ बालकोसेली (Baalkoseli) नानीबाबुको युट्युव च्यानलमा वैशाख २२, सोमबारदेखि हरेक बिहान ११ बजे प्रिमियर हुनेछ । कार्यक्रममा तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका सहभागी हुँदैछन् ।
‘कथा सुन्ने र सुनाउने हाम्रो प्राचीन संस्कृति हो । हजुरबा–हजुरआमाबाट कथा सुन्ने परम्परा संयुक्त परिवारको संरचना खुकुलो भएपछि छुट्दै गयो’,थिएटरका निर्देशक केदार श्रेष्ठले भने, ‘त्यसैले हामी अभिभावकलाई आफ्ना छोराछोरी र कथाको सम्बन्ध बलियो बनाउन अनुरोध गर्छौ ।’
त्यस्तै कार्यक्रमका सह निर्माता प्रशुन सिन्धुलियले बालबालिकाले कथा सुनाएको भिडियो baalkoselinepal@gmail.com मा पठाउन पनि अनुरोध गरेका छन् । साथै कार्यक्रमको उदघोषण गर्न चाहने बालबालिकाले पनि सम्पर्क गर्न सक्ने उनले जनाए ।