सरकारलाई महावीर पुनको प्रश्नः लकडाउन खुकुलो नगरी उद्योग कसरी चल्छ ?

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन चैत ११ गतेदेखि लागू गरेको लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याएको छ । यद्यपी यो अवधिमा विकास निर्माण र उद्योगहरू भने खुला गर्ने भएको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो। कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोनाको जोखिमका आधारमा रातो, पहेँलो र हरियो क्षेत्र निर्धारण गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव राखेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै यो मोडलमा जान नसकिने भन्दै लकडाउनलाई निरन्तरता दिने निर्णय गरेका हुन्।

बैठकले लकडाउन लम्ब्याए पनि विकास निर्माणका काम र उद्योगहरु भने खुला गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाका अनुसार राष्ट्रिय गौरवका आयोजनासँगै सिँचाई, जलविद्युत, खानेपानी, विमानस्थल सडक र पुल, सडक र सरकारी भवन निर्माण एवं प्रबलीकरणका काम गर्न पाइनेछ।

यसैबीच सरकारले लकडाउन खुकुलो नगरि कसरी उद्योग धन्दाहरू चल्न सक्छन् ? भनेर अभियन्ता महाविर पुनले सरकारलाई प्रश्न गर्नुका साथै उनले उद्योगधन्दा सञ्चालनका लागि लकडाउनलाई विभिन्न तहमा कसरी खुकुलो बनाउन सकिन्छ भन्ने सुझावसमेत दिएका छन्।

‘जबर्जस्तीले मात्र समस्या हल हुँदैन। समस्या समाधान गर्न कमन सेन्स पनि लगाउनुपर्छ’, उनले भनेका छन्।

सुझावहरू

१. उदयपुर र बाँके २ जिल्लामा लकडाउन निकै कडा गर्ने। किनभने त्यहाँ जम्मा ७५ जना संक्रमित छन्। आज त यसमा पर्सा जिल्ला पनि थपिएको छ।

२. झापा, भोजपुर, सर्लाही, बारा, रौतहट, कैलाली, चितवन, रूपन्देही गरेर ८ जिल्लामा लकडाउन पहिलेभन्दा अलि कम कडा गर्ने। किनभने ती जिल्लामा संक्रमितको संख्या नगन्य छ। यी जिल्लामा बढीमा २ जना संक्रमित छन्। जिल्लाभित्र आवतजावत गर्न कडाई पहिलेको भन्दा अलि कम गर्ने र उच्च सावधानी भने अपनाउन लगाउने। तर भारतसँग सीमा जोडिएका जिल्लाको सीमा क्षेत्रमा सुरक्षा कडा गर्ने।

३. यी माथिका ८ वटा जिल्लासँग सीमा जोडिएका २५ जिल्लामा लक डाउन अलि खुकुलो बनाउने र जिल्ला भित्र आवतजावत गर्न दिने। किनभने त्यहाँ कोरोनाले संक्रमित कोही पनि भेटिएका छैनन्।

माथिको संक्रमित भेटिएका ९ जिल्लासँगको आवतजावत सकेसम्म कम गर्ने र निकै सावधानी अपनाउने। तर भारतसँग सीमा जोडिएका जिल्लाको सिमाना क्षेत्रमा सुरक्षा कडा गर्ने।

४. माथिको ३ नम्बरको जिल्लासँग सीमा जोडिएका २६ जिल्लामा लक डाउन निकै खुकुलो बनाउने। किनभने त्यहाँ कोरोनाले संक्रमित नभएकोले र कोरोना भएका जिल्लाबाट निकै टाढा परेकोले खतरा कम छ। तर सावधानी भने अपनाउने। अनि भारतसँग सीमा जोडिएका जिल्लाको सीमा क्षेत्रमा सुरक्षा कडा गर्ने।

५. माथिको ४ नम्बरमा भएका जिल्लासँग सीमा जोडिएका १४ वटा जिल्लामा लकडाउन पूर्ण रूपमा खुला गर्ने। तर, सावधानी भने अपनाउने। अनि भारतसँग सीमा जोडिएका जिल्लाको सीमा क्षेत्रमा सुरक्षा कडा गर्ने।

प्रकाशित मिति: : 2020-05-07 12:02:00

प्रतिकृया दिनुहोस्