डर यहाँ अन्त्य हुँदैन !

विश्व कोरोनाभाइरस (कोभिड–१९) बाट छुटकारा पाउन संघर्ष गरिरहेको छ। चिकित्साकर्मीहरू आफ्नो ज्यान नै जोखिममा राखेर संक्रमितको सेवामा खटिइएका छन्। जनताको सेवाका लागि सामाजिक कार्यकर्ता रातदिन नभनी आ-आफ्नो ड्यूटीमा तैनाथ छन्।

कोरोनाभाइरसका कारण बन्दाबन्दी (लकडाउन) दिनानुदिन बढिरहेको छ। लामो समय घरभित्र बस्दाबस्दै मानिसहरु मानसिक र आर्थिक तनावको पञ्जामा छन्। उनीहरू काम, व्यवसायमा चाँडो फर्किन चाहन्छन्।

बन्दाबन्दी (लकडाउन) पछिको अवस्था कस्तो होला? मानिसहरू चिन्तित छन्। खाइपाइ आएको जागिर पाइन्छ कि  पाइँदैन, – जिज्ञासा छ। कम्पनी कस्तो चल्ला? शैक्षिक यात्रा कसरी अघि बढ्ला? कोही–कोही त देश तथा विदेश डुल्ने उपयुक्त समयको प्रतिक्षारत छन्। र प्रवासीहरू आफ्नो गाउँ (देश) फर्कने बारे चिन्तित।

बन्दाबन्दीको क्रममा सबैको हात र काम रोकिएको छ। घरमा नारीहरुको काम निरन्तर जारी छ। वास्तवमा उनीहरुको घरधन्दा दोब्बर छ। आफ्नो परिवारको लागि हर समय खट्ने नारीलाई – सलाम।

कोरोनाभाइरस संसारभर फैलिने क्रम तिब्र छ। भारइस संक्रमणको गति नरोकिएसम्म घरमै थुनिनुबाहेक अर्को विकल्प देखिदैन। कोरोना युगमा घरेलु हिंसा र महिलाहरूमाथि यौन हिंसाका घटनाहरू संसारभरि बढ्दो छ। यस्तो समयमा नेपाललगायतका देशहरू अपवाद हुन सक्दैनन्। कोरोनाको त्राससँगै घरेलु हिंसा र यौन हिंसामा समाजको नजर पुग्न ढिला नहोस्। नत्र, हिंसा पनि कोरोनाभन्दा डरलाग्दो हुनेछ।

बन्दाबन्दीमा आर्थिक संकटको तनावका साथै घरको दैनिक कामकुराको व्यवस्थापन, भावनात्मक तनावले शारीरिक र मानसिक हिंसा बढेको देखिन्छ। नेपाली समाज आधुनिकता तर्फ मोडिदै छ। पछिल्लो पुस्ता कमाउन र सोही अनुसारको खर्च गर्न रूचिकर छन्। कोरोनाले जीवनशैली नै फेरिदिएको छ। यसबाट असहमति, असन्तोष र विवाद भइरहेका दृश्य बिस्तारै–बिस्तारै छरिएका छन्। रोजगारीले पैसा र प्रतिष्ठा मात्र दिँदैन। यसले त मानसिक रूपमा स्वस्थ्य रहन पनि महत्वपूर्ण भूमिका खेल्छ।

प्रायः मानिसहरु काम नहुँदा बोझ महसुस गर्न थालेका छन्। आजकाल जति पनि फुर्सद छ। भेटघाट वा चिया पिउनसम्म नपाउनेहरुका लागि समय अचानक भेटियो तर, योजना विहिन।

जब बिहान सूर्य उदाउँथ्यो – मान्छेहरूको चहलपहल बिस्तारै–बिस्तारै बढ्न थाल्थ्यो। जागिरमा जानेहरुको आफ्नै लय, बच्चाबच्चीहरू स्कूल, कलेज तयार हुन्थे। मानौं, आ-आफ्नै नियम थियो। सबै आफ्नो–आफ्नो बाटो लागेपछि – गृहिणीहरू घरमा बस्थे। उनीहरुको काममा फुर्सद नै हुँदैन्थ्यो – अहिले झन् के होला?

सबै जना घरमै छन्। समयको कुनै पालना नै छैन। प्रायः परिवारमा एक अर्कामा दोष खोज्न थालेका छन्। विश्लेषण कै आधारमा एकअर्कामा गल्ती पत्ता लगाउँछन्। परिणाम स्वरूप पारिवारिक झगडा बढ्दै छ। नतिजा स्वरूप, बन्दाबन्दीमा घरेलु हिंसा बढ्दैछ।

बन्दाबन्दी कथाहरू सामाजिक सञ्जालमा चर्चापरिचर्चा हुन थालेका छन्। देश कोरोनाभाइरसको बिरूद्ध लडिरहेको छ। मानिसहरु थुनिएका छन्। नारीहरुको दैनिकीमा जिम्मेवारी थपिएको छ। बास्तवमा यसपटक कोरोना भगाउन डाक्टरहरुको जति जिम्मेवारी छ – पारिवारिक दैनिकी चलाउन नारीहरुको उतिकै भूमिका छ। समय फेरिएको छ। त्रास दिन प्रतिदिन बढेको बढ्यैँ छ। कोरोना भगाउ – जीवन जोगाउ। सुरक्षित रहौं – घरेलु हिंसा अन्त्य गरौं। सबैलाई बाँच्नु छ। जय होस्।

प्रकाशित मिति: : 2020-05-08 06:46:00

प्रतिकृया दिनुहोस्