अमेरिकामा लकडाउन-सहबास : पुरूषलाई चरम आनन्द, महिलालाई पीडा

तारा भट्टराई

न्युयोर्क-अमेरिका
४४ बर्षकी सेन्टेण्डर चार छाेराछाेरीकी आमा हुन्। ग्राेसरी स्टाेरमा सातैदिन क्यासियरकाे काम गरिरहेकी उनी न्युयाेर्कमा जब काेराेनाले महामारीकाे रुप लिन थाल्यो,  काम छाेडेर घरै बस्न थालिन्।कार पार्किंङलटमा काम गर्ने उनका श्रीमान् पनि घरै बस्न थाले।
 
२० बर्षकाे उमेरमा बिहे भएर १५ दिनसँगै पाेर्टाेरिकाे घुम्न गएयता उनीहरुले दुई दिनभन्दा बढी घरमा सँगै समय 
बिताउने माैका पाएका थिएनन्। बिहे भएको बर्ष दिनमै  सन्तान जन्मियाे र एक-दुई बर्षकाे अन्तरका चार छाेराछाेरी  हुर्की पनि सके।
 
न्युयाेर्ककाे महङ्गीमा काेठाभाडा तिर्न, बालबच्चाकाे खानपान र लत्ताकपडाका लागि पनि दुबैजनाले लगभग 
सातै दिन काम गर्नुपर्ने बाध्यता थियाे। त्यसमाथि पनि  एकजनाले बालबच्चाकाे रेखदेख गर्नुपर्ने भएकाले दिउँसाे आफूले काम गरे राती श्रीमानले काम गर्नुपर्ने हुन्थ्यो। यसो भएपछि उनीहरुकाे बेडरुममा भेटघाट पनि कम हुने नै भयो ।जरुरी कुरा फाेनमा वा टेक्स्ट मेसेजमा गर्नुपर्ने बाध्यता हुन्थ्यो। यसरी नै थाहै नपाई २४ बर्ष बितिसकेकाे रहेछ।
 
अहिले लकडाउन छ। युटुबमा हेरेर खानाका परिकार घरमै पकायो, सबैजना एउटै टेबुलमा हाँसाे ठट्ठा गर्दै खायो। चलचित्र हेर्यो। एक किसिमको खुशीको वहार आएको छ उनको जीवनमा।अझ गजबको कुरा त दुबैलाई ओछ्यानमा सँगै हुने दुर्लभ मौका जुरेको छ। छोराछोरी पनि ठूला भैसकेकाले सँगै झ्याम्मिने कुरा पनि छैन। एक किसिमको हनीमुन जस्तै गजबको वातावरण जुरेको छ। यो गजवको वातावरणमा उनका श्रीमान् बढी नै डिमाण्डिङ भएका छन्। विहान, दिउँसो, बेलुका जतिबेला पनि उनी सेक्सकै माग गरिरहेका हुन्छन्। दिनमा एक दुईपटक त उनलाई पनि ठीकै लाग्छ। तर, त्योभन्दा बढी चाँहि उनका लागि पीडादायी हुन्छ।
 
उनी भन्छन्, 'मलाई मेरो श्रीमान् यति धेरै डिमाण्डिङ छ जस्तो लागेको थिएन। त्यो पनि यही मौकामा थाहा भयो। श्रीमान् हो उसको पनि मन नै हो भनेर नाइँ भन्न पनि सक्दिन।' लामो समयसम्मको पातलो सहबासले उनको योनीको विकास पनि त्यही किसिमले भएको हो कि अरू नै कारण हो, उनलाई केही थाहा भएन। तर, पीडा धेरै भएपछि उनी श्रीमानलाई थाहै नदिई गाईनाेकाेलाेजिष्टकोमा गएर जँचाइन्।
 
अल्ट्रासाउण्डमा केही खराबी देखिएन, रिपोर्ट राम्रै आयाे। डाक्टरलाई सबै कुरा बताइन्।
चेकजाँच गर्दा केही नदेखिएपछि योनीमार्ग चिप्लो पार्ने ल्युब्रिकेन्ट प्रयाेग गर्ने सल्लाह दिएर पठायो डाक्टरले। उसले थप योनी खुम्च्याउने र फुकाउने कसरत पनि सिकायो।
 
यसबाट पनि दुखाइमा कमी भएन भने योनीमार्ग ठूलो पार्ने सानाे अप्रेसन गर्नुपर्ने डाक्टरले बताएकाे उनी बताउँछिन्। उनी अगाडि भन्छिन्, 'खासमा मलाई अपरेसन गर्न मन  छैन। लकडाउन सकिएपछि पहिलेकै रूटिनमा काम सुरू हुन्छ।त्यसपछि त यसै पनि मेरो समस्या कम भैहाल्छ।'
 
उनलाई आफ्नाे श्रीमानप्रति कुनै गुनासाे छैन। उनी आफू र आफ्ना छाेराछाेरीकै खुशीका लागि रातदिन खटिरहेको ठान्छिन्। 'उनको सेक्सको भोक मार्न नसकेकोमा ग्लानी हुन्छ' भन्दै सेन्टेन्डर अगाडि भन्छिन्, 'यसमा उसको चाहनाको दोष हैन, दोष त मेरै शरीरको हो। आखिर मेरो शरीरलाई चाँहि किन त्यो मीठो भोक नलागेको होला ?'
 
जेनिफर २५ वर्षकी भइन्। अहिले उनी पनि न्युयाेर्ककाे ब्रुकलिनमा व्वायफ्रेण्ड सँग लकडाउनमै छिन्। अरुबेला १०/१५ दिनमा मात्रै फुर्सद मिलाएर एकैछिनका लागि  भेटघाट गर्ने उनकाे व्वायफ्रेण्ड लकडाउनमा उनीसँगै बस्न आयो।
तीन बर्षदेखिकाे प्रेम सम्बन्ध भए पनि बाहिर ट्राभल गरिरहनुपर्ने व्यस्त जीवनशैलीले यस्ताे धेरै  सामिप्यताकाे महसुस पनि हुन पाएकाे थिएन।एकले अर्काेलाई राम्ररी चिन्ने बुझ्ने समय पनि मिलेकाे थिएन।अहिले लकडाउनमा त्यो सबै समय मिलेको छ। तर, उनको पनि समस्या सहबासमा हुने पीडाकै छ। 
अमेरिकामा लकडाउनले श्रीमान श्रीमतीका लागि सेक्स पार्टनर हुने अजब गजबको अवसर प्रदान गरेको छ। यो अवसरमा केहीले सेक्सको चरम आनन्द लिइरहे पनि केहीले चरम पीडाको अनुभूति पनि गरिरहेका छन्। यस्तो चरम पीडाको अनुभूति गर्नेमा लगभग सत्-प्रतिसत महिला नै छन्। अमेरिका भनेर के गर्नु, आखिर महिलाका पीडा भूगोलले फरक पार्ने हैन रहेछ।
'उत्तिकै उत्तेजना र अर्गाजम भएपनि मलाई इन्टरकाेर्सका बेला पीडा हुन्छ। जस्ले मलाई उनकाे छेउमा जान  एकदमै त्रसित बनाउँछ', जेनिफर  भन्छिन्।
 
आफ्नाे व्यायफ्रेण्डमा सबै राम्रा गुण भएको बताउँदै उनी अगाडि भन्छिन्, ' म उसलाई गुमाउन चाहन्न। त्यसैले बरू पीडा नै भए पनिपेनकिलर खाएर भए पनि सहिरहेकी छु। हुन सक्छ, म पनि बानी पर्छु र रमाउन पो थाल्छु कि ? त्यसो भएन भने पनि लकडाउन खुलेपछि त हामी सामान्य जीवनमा फर्किहाल्छाै नि', जेनिफ़र भन्छिन्।
 
अफ्रिकन मुलकी मार्भिना ५२ वर्षकी भइन्। लकडाउनमा बसिरहेकी  काे भने फरक अनुभब छ ।उनी सिंगल हुन् र उनका अनुसार अहिले न्युयाेर्कमा अनलाइन डेटिङ  लगभग बन्द छन्।कोरोना संक्रमणको डरले काेही डेटिङ गर्न मान्दैनन्।अनलाइनमा आउनेसँग  सेक्टिङ, भिडियो सेक्स र फोन सेक्स गरेर समय बिताइरहेकाे बताउँछिन्। 
 
'काेराेना भाइरस अब तत्कालै नसकिने देखिएकाले केही दिनअघि अनलाइनबाट सेक्सटाेय खरिद गरेँ।अब यसैबाट शान्त हुन्छु म', उनी भन्छिन्।
 
लकडाउनमै बसिरहेकी चिनियाँ-अफ्रिकन मुलकी २२ बर्षिय मिनीसा भने चौबिसै घण्टा व्वायफ्रेण्ड साथै भैराखेकाेमा खुशी छिन्। उनी भन्छिन्,' सेक्सको मज्जा त लिइरहेकी छु। तर, गर्भवती हुनबाट बच्न जतिबेलै कण्डोम किन्न बाहिर धाइरहनुपर्ने भएकाेले चिन्तित छु।' उनका अरू पनि दुईवटा चिन्ता छन्, पहिलो- सेक्सको बेला हुने उत्तेजनाका कारण जे पनि गरिने भएकाले काेराेना भाइरस लाग्ने डर। दोस्रो, कण्डोम महंगो भएकाले खर्च धान्नै नसकिने सहबास । उनी भन्छिन्, 'कण्डम पनि ज्यादै  महँगाे छ।१५ डलर तिरेर आज किन्याे, भाेलि सकिन्छ। क्रेडिट उकालाे चढेकाे चढ्यैछ।'
 
यी त केही प्रतिनिधि पात्रका पीडा भए। केहीलाई पीडा भएको हुन सक्छ भने केहीलाई सेक्सको मज्जा लिने अवसर पनि मिलेको हुन सक्छ। हरेक कुरालाई सामान्यीकरण गर्न मिल्दैन तर पत्रकारितामा सधैंभरि चुनिएकै सत्यका बारेमा केही लेखिने भएकाले पनि मान्नुहोस् यी पीडाहरू पनि चुनिएकै सत्य हुन्। 
प्रकाशित मिति: : 2020-05-12 05:13:05

प्रतिकृया दिनुहोस्