'तपाईंजस्ता मन्त्रीलाई पनि फिर्ता बोलाए है!'

प्रेम आलेलाई एमालेमै फर्काउन विष्णु पौडेलको फोन...

File Photo
File Photo

नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालसँग सम्बन्ध चिसिएपछि पर्यटनमन्त्री प्रेम आलेलाई एमालेमै फर्काउन शीर्ष नेताहरूले प्रयास थालेका छन्।

मन्त्रीबाट फिर्ता बोलाएपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग झन्–झन् सम्पर्क बढाएर कांग्रेस प्रवेश गर्ने चेतावनी दिएका आलेलाई पार्टीभित्रकाे असन्तुष्टि र विवादको मौका छोपेर एमालेका उपाध्यक्ष विष्णु पौडेलले झण्डै ११ मिनेट फोनवार्ता गरेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र पौडेलले मन्त्री आलेलाई आइतबार राति फोन गरेको एमालेनिकट स्रोतले जनाएकाे छ।

आलेप्रति सद्भावपूर्ण धारणा राख्दै पौडेलले फाेन संवादका क्रममा भने, 'देश–विदेशमा समेत चर्चा हुने गरी मुलुकको हित चिताएर राम्रा काम गर्नुभएका तपाईंजस्ता मन्त्रीलाई पनि फिर्ता बोलाए है?'

लगतै उनी एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालप्रति खनिएकाे स्राेतले दाबी गरेकाे छ। 'माधव कमरेडकाे यसमा खासै दाेष छैन। याे सबै गर्ने बेदुराम भुसाल हुन्। तर पनि पार्टीकाे निर्णयप्रति खुशी छु। ओली पनि कहाँ गलिलाे हुनुहुन्छ र। तपाईंलाई त म सधैं सम्मान नै गर्छु,' आलेले भने।

मन्त्री रामकुमारी झाँक्री र विराेध खतिवडा पद थमाैतीकाे माग गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेकाे पत्ताे पाएपछि उपाध्यक्ष पाैडेलले मन्त्री आलेलाई फाेन घुमाएकाे आले निकटस्थहरू बताउँछन्। 

'कांग्रेसमा प्रवेश गर्ने भन्ने हल्लापनि सुनिएको छ, के–कति सत्य हो? त्यता चाहिँ नजानु है,' पौडेलले फाेनमा भने। एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल आफूविरूद्ध बाेल्दै हिँडेकाे देखेपछि रिसकाे झाेकमा कांग्रेस प्रवेश गर्ने चेतावनी दिएपनि माधवकुमार नेपालकाे साथ नछाेड्ने जवाफ फर्काएकाे पाैडेल–आलेकाे फाेन सुनिरहेका एमालेका एक नेताले जनाएका छन्।

सहानुभूति व्यक्त गर्दै उपाध्यक्ष पौडेलले एमालेमै फर्किन घुमाउरो प्रस्ताव गरेको पाैडेलनिकट स्राेतकाे दाबी छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारमा आले वनमन्त्री र पौडेल अर्थमन्त्री हुँदादेखि नै उनीहरूनिकट रहेकाे कतिपय नेताहरू बताउँछन्।

प्रकाशित मिति: : 2022-06-08 09:26:00

प्रतिकृया दिनुहोस्