विदेशबाट ल्याइनेलाई राख्न क्वारेन्टाइन निर्माणमा जुट्यो समिति, होटलदेखि रंगशालासम्मको निरीक्षण

विदेशबाट आउन चाहने नेपालीको संख्या ५ लाख ८८ हजार भन्दा बढी

डिल्ली पाण्डे

काठमाडौं     

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट पीडित विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकार लागिपरेको छ।

यसरी विदेशबाट ल्याइएका नेपाली नागरिकलाई राख्न सरकार क्वारेन्टाईन ब्यवस्थापनमा जुटिसकेको छ।

जिल्लास्तरीय क्राईसेस म्यानेजमेन्ट समितिले काठमाडौंमा क्वारेन्टाइन राख्न उपयुक्त ठाउँको निरीक्षण समेत गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वमा रहेको जिल्ला क्राईसीस म्यानेजमेन्ट समितिले आइतबारदेखि काठमाडौं भरिका सम्भावित स्थानको निरीक्षण सुरू गरेको हो।

समितिले उचित स्थानको पहिचान गरी त्यसको प्रतिवेदन बनाएर उच्चस्तरीय समितिलाई बुझाउने र प्रतिवेदनका आधारमा क्यारेन्टाईन बनाईने प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘विदेशमा रहेका नेपालीहरू निकट भविश्यमा नेपाल आउँछन्, उनीहरुलाई राख्न र उपत्यका बाहिरका नेपालीलाई त्यहाँ नपठाएसम्म सुरक्षित राख्नुपर्ने हुन्छ, हामी त्यसैको तयारीमा जुटेका छौं’, प्रमुख जिल्ला अधिकारी दाहालले भने।

दाहालका अनुसार समितिले त्यसरी क्वारेनटाईन बनाउन उपयुक्त ठाँउ रंगशाला, पार्टी प्यालेस, होटल, क्लव तथा खाली जग्गाको निरीक्षण थालेको छ।

समितिले कुन स्थानमा कति मान्छे राख्न सकिने र कसरी निमार्ण गर्ने भन्ने प्रतिवेदन बनाएर सरकारको उच्च स्तरीय समितिलाई सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी दाहालले बताए।

परराष्ट्र स्रोतका अनुसार कोरोना भाइरस (कोभिड( १९)को प्रभावका कारण विभिन्‍न मुलुकमा रहेका ५ लाख ८८ हजार ७ सय नेपाली स्वदेश फर्किन चाहेका छन् ।

भारतसहित तेस्रो मुलुक तथा श्रम गन्तव्य मुलुकहरूबाट हवाइ सेवा खुल्नासाथ २ लाखभन्दा बढी र त्यसपछि बाँकी तीन लाखभन्दा बढी नेपाली नागरिक स्वदेश फर्किन चाहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयको संयोजनमा वैदेशिक रोजगार बोर्ड लगायत सरकारी निकायहरूले विभिन्न मुलुकमा रहेका नेपाली कूटनीतिक नियोग तथा गैर आवासीय नेपाली संघसागको सहकार्यमा तयार पारेको विवरणमा कोरोना प्रकोपको प्रभाबाट ठूलो संख्यामा वैदेशिक रोजगारीमा रहेका नेपाली स्वदेश फर्किन बाध्य हुने भएका हुन् ।

संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको यसअघि सोमबार बसेको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २ लाख १० हजार ८७१ नेपालीलाई तत्काल उद्धार गरेर स्वदेश ल्याउनुपर्ने र बाँकी ३ लाख ७७ हजार भन्दा बढीलाई पनि नेपाल ल्याउनुपर्ने अवस्था रहेको जानकारी दिएका थिए।

त्यसरी तत्काल स्वदेश फर्किनेमा ठूलो संख्यामा वैदेशिक रोजागारीमा गएका र रोजगारी गुमेकाहरू छन् ।

त्यसैगरी, नियमित रूपमा स्वदेश आउन चाहेका तर हवाइ उडान बन्द भएर रोकिएका, भिसा सकिएका, पर्यटकका रूपमा विदेश गएर अड्किकाहरू रहेको ज्ञवालीले जनाए । भारतबाट स्वदेश फर्किनेको संख्या साढे २ लाख रहेको मन्त्री ज्ञवालीले जनाए ।

गत मंगलबारसम्म भने त्यसरी नेपाल फर्किनेहरूको संख्या ४ लाख ७ हजार थियो । त्यसमा तत्काल ल्याउनैपर्ने संख्या १ लाख २७ हजार रहेको वैदेशिक रोजगार विभागको तथ्यांक थियो । उक्त तथ्यांक पनि परराष्ट्रसँग मिलेर विदेशस्थित कूटनीतिक नियोग र एनआरएनसँग मिलेर तयार पारिएको थियो । यसरी हेर्दा विदेशबाट कोरोनाका कारण फर्कनुपर्ने बाध्यतामा रहेका नेपालीको संख्या साता दिन नबित्दै एक लाख भन्दा बढीले वृद्धि भएको छ।

स्वदेश फर्किन चाहनेहरूलाई सम्बन्धित मुलुकले विमान चार्टर गरेर नेपाल पुर्‍याउन खोजेको पनि मन्त्री ज्ञवालीले बताए । श्रम गन्तव्य मुलुक यूएईले नेपाली कामदारलाई आफैं विमानमा पुर्‍याउने अनुमति माग्दै सरकारलाई पत्र लेखेको उनले जानकारी दिए। यूएईले त्यसरी नेपालीलाई फर्काउन अनुमति माग पनि क्वारेन्टाइन लगायतको व्यवस्था नगरी अनुमित दिन सकिने अवस्था नरहेको उनको भनाइ थियो ।

विदेशबाट ल्याएकाहरूलाई व्यवस्थापन गर्नका लागि प्रदेशपिच्छे ५० हजार क्षमताको क्वारेन्टाइन बेड संख्या बढाउने सरकारको तयारी छ । सकेसम्म विदेशमा रहेका नेपालीलाई समस्या नहुने अवस्थासम्म विदेशमै बस्न प्रेरित पनि सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोगहरूले गरिरहेका छन् ।

प्रकाशित मिति: : 2020-05-17 18:59:09

प्रतिकृया दिनुहोस्