अमेरिकामा बसेर विश्वभरिका नेपालीलाई ‘काउन्सिलिङ’ गर्दे डाक्टर कल्याण (भिडियाे)

डाक्टर कल्याण सुवेदी, समाजिक सञ्जालमा भाइरल भएको नाम हो। मनोचिकित्सक सुवेदीलाई विश्वभरि रहेका नेपालीले सामाजिक सञ्जालका  माध्यमबाट पछ्याइरहेका छन्। मनोचिकित्सक डाक्टर सुवेदीले समाजिक सञ्जालबाट स्वास्थ्यसम्वन्धि सन्देश मात्र दिदैनन्, टिकटकमा रमाईलो भिडियो सन्देश प्रवाह गरेर आम नेपालीलाई ‘लकडाउन’ को बेला मनोरञ्जन पनि दिँदै आइरहेका छन्। 

संसारभरिका मानिसले सामाजिक सञ्जालमार्फत आफ्नो समस्या राख्छन्, डाक्टर सुवेदीसमक्ष। उनी पनि सक्दो समस्याको परामर्श दिने कोशिसमा जुटिरहेका हुन्छन्। 

केहि वर्ष पहिलासम्म उनले फोनबाटै स्वास्थ्यसम्वन्धि जिज्ञासा समाधान गर्ने कोशिस गर्थे। सयांै मानिसको समस्या एकएक गरि समाधान गर्न सम्भव नहुने भएपछि उनले युट्युबको माध्यमबाट विभिन्न समस्या समाधानका उपाय बताउने गरेका छन्। 

अमेरिकाको केन्टकी राज्यमा बस्ने डाक्टर सुवेदी लेजिङ्गटन केन्टकी सामुदायिक क्लिनिकमा काम गर्छन। सुरुमा साइकोलोजिस्ट र थेरापिस्टकोमा गएका बिरामी त्यहाँबाट निको नभएपछि रिफर भएर उनी कहाँ आउने गरेका छन्। 

डाक्टर सुवेदीसँग जँचाउन ३ महिना अगाडी नै फोन सम्पर्क गरेर नाम लेखाउनु पर्नेहुन्छ। मनोचिकित्सक भएकोले उनले बिरामीलाई बढी समय दिनुपर्ने हुन्छ। आफ्नो व्यस्त दैनिकीका बावजुद पनि उनी बिदेशमा रहेका नेपालीको स्वास्थ्य सम्वन्धि समस्या सुनेर भिडियोमार्फत सन्देश छाड्छन्।

दुबई, कतार, मलेसिया, कोरिया, युरोपलगायत देशमा रहेका नेपाली कामदारले विशेषगरी आफूमा आएको नैराश्यता तथा विभिन्न मानसिक समस्या र अन्य स्वास्थ्यसम्वन्धि समस्या राख्छन्।

डाक्टर सुवेदी भन्छन्, ‘बिदेश बस्ने धेरैजसो नेपाली युवा परिवार छाडेर आउने हुनाले परिवारसँगको समस्याका कारण पनि मानसिक विचलनमा पर्ने गरेका छन्। कतिपय त नेपालदेखि नै मानसिक समस्याको औषधि सेवन गरेका बिदेश जाँदा औषधि नलिई जाने र त्यहाँ पुगेपछि भोग्नुपर्ने समस्याका कारण मानसिक समस्या पुनः बल्झिने गरेको छ।’ 

डाक्टर सुवेदी यी समस्याको एकमुस्ट भिडियो सन्देशको रुपमा समाधानका उपाय बताउने गर्छन। बिदेशमा रहेका धेरैजसो नेपालीमा कुनै न कुनै प्रकारको मानसिक समस्या देखिने गरेको बताउँदै उनी भन्छन्, ‘झन् यतिबेला कोरोना संक्रमणको महामारीको मानसिक असर सबैभन्दा बढी बिदेशीएका मानिसमा पर्ने गरेको देखिन्छ।’ कल्याणका दुईजना भाई र आमाबुवा छन्। उनको माईलो भाईबुहारी कोरियामा छन् भने कान्छा भाईबुहारी अमेरिकामै बस्छन्। घरमा बुबाआमा मात्र भएकोले उनी प्रत्येक वर्ष नेपाल जान्छन् र डेढ दुई महिना बसेर अमेरिका फर्किन्छन्। 

तनहुँको खैरेनिटारको अरनिको माध्यमिक विद्यालयबाट कक्षा १० सम्मको पढाई पुरा गरेका उनले काठमाडौंको नोबल एकडेमीबाट कक्षा १२ सम्मको पढाई पुरा गरेपछि अमेरिका प्रवेश गरेका हुन्। 

अमेरिकामा आएपछि सुरुका वर्ष निकै दुःख पाएको उनको भनाई छ। उनले २०१४ मा ‘साईकाटिक्स मेन्टल हेल्थ नर्स प्राक्टिसनर’ मा मास्टर डिग्री गरे र सन् २०१७ मा डक्ट्रेड गरेका हुन्। उनी कालान्तरमा आफ्नै देशमा केहि गर्ने सोच राख्छन्। उनले छिटै नेपाल फर्कने योजना पनि बनाएका छन्। 


                
                 
 

प्रकाशित मिति: : 2020-05-17 19:02:44

प्रतिकृया दिनुहोस्