राहत माग्‍न हानथाप

विनय बञ्जारा

सोमबार संसद्को प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेरोजगार तथा रोजगारी गुमाएका श्रमजीवी र विपन्न वर्गलाई मासिक ५ हजार नगद राहत दिन प्रस्ताव गरे। सोमबारै नेपाल उद्योग वाणिज्य महासंघले भर्चुअल पत्रकार सम्मेलन गरेर आफूहरूको माग बजेटबाट सम्बोधन नभए सबै उद्योग बन्द गरेर सडकमा उत्रिने धम्की दियो।

महासंघ अध्यक्ष भवानी राणाले राहत नपाए व्यवसायीलाई बैंक ब्याजकै कारण आत्महत्या गर्ने अवस्था आउने भन्दै आन्दोलनको धम्की दिइन्। बहुसंख्यक उद्योगीको संगठन नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘आर्थिक बहस’को मूल मुद्दा चाहीँ ब्याजदर घटाउने मौद्रिक उपकरणमार्फत् उद्योगलाई जोगाइनुपर्नेमा केन्द्रित थियो।

परिसंघ उपाध्यक्ष अनुज अग्रवालले निक्ष्ोपको ब्याजदर अहिलेभन्दा पनि घटाउने र सरकारले पुनर्कर्जामार्फत् सस्तो ब्याजमा पैसा दिएर कर्जाको ब्याजदर कम गर्नुपर्ने बताए। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने वित्तीय क्षेत्र र व्यावसायिक क्षेत्र दुवै बचाउनेगरी प्रयत्न गर्ने बताए। नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले समस्यामा परेका उद्यमीलाई बैंकहरू शून्य नाफामा ऋण दिनेगरी ब्याजदर ओराल्न तयार भएको बताए। तर उनी बैंकलेभन्दा ज्यादा नाफा कमाइरहेका व्यवसायीलाई भने ब्याज छुट दिन नसकिने बताउँदै आएका छन्।

प्रकाशित मिति: : 2020-05-19 08:12:25

प्रतिकृया दिनुहोस्