वर्षाको स्पष्टीकरण–‘जिब्राे चिप्लियाे हाेला म क्षमाप्रार्थी छु, अब बोल्दा हेक्का राख्छु’

नायिका वर्षा राउतको अभिव्यक्तिले शनिबारदेखि सामाजिक संजाल तातेको छ। 

उनले सामाजिक सञ्जालमा  नेपाल–भारत सीमाको विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो क्लीप सार्वजनिक गरेकी थिइन्।

जसमा उनले नेपाल–भारतका पत्रकारहरु मिलेर दुई देशबीचमा फाटो ल्याउने काम गरिरहेको बताएकी छिन्।  ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन। यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो। यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा गरिरहेका छन्’,उनले भनेकी छिन्।

उनले याे विवादपछि भारतमा रहेका साथीहरुसँग बाेल्न र अगाडि पर्नसमेत लाजमर्दाे भएकाे आशय व्यक्त गरेकी छन्।  ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने अनि इन्डियन साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ,’उनले भनेकी छिन्।

उनकाे अभिव्यक्तिको चर्को आलोचना भएपछि सामाजिक संजालबाट स्पष्टिकरण दिँदै क्षमा मागेकी छिन्।

नायिका राउतले लेखेकी छिन्–

कलाकार हुँ, त्यसमाथि भावूक स्वभावकी छु। त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु। तर, एउटा अन्र्तवार्तामा लिएर जुन हो–हल्लागरियो। यसले मलाई भावानात्मक ठेस पुगेको छ। प्रत्यक्ष प्रशारण भैरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मन भित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकती पनि चुकेकी छैन। अलिकती पनि तल–माथि परेकी छैन।

स‌ंसारकाे कुनै नागरिकलाई आफ्नाे मातृभूमिप्रतिकाे माया हुँदैन हाेला र? त्यसमाथि नेपालि कलाकार भनेर हाम्राे त पहिचहान नै देश र राष्टि्रयतासँग जाेडिएकाे हुन्। आफ्नाे परिचय ने अङ्गिकार गर्न सक्ने यति ठूलाे र महान सम्मानलाई म उच्च ओहाेदामा राख्छु। म नेपाली हुँ,मलाई गर्व छ।

हाल लिम्पियाधुरा, लिपुलेक र कालापनीसम्मको भूमिलाई समेटेर जुन नक्शा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्ठता देखाएको छ, म त्यसको समर्थनमा अग्रपंक्तिमा उभिन तयार छु। तर, म जस्तो एउटा व्यक्ति, एउटा नागरिकले मात्र समर्थन गरेर हुँदैन। हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ।  वार्ता गर्ने उचित वातावरणको समर्थन गर्नुपर्छ। सत्य र तथ्यको समर्थन गर्नुपर्छ। हाम्राे दुई छिमेकीकाे प्रगढ सम्बन्धकाे सम्मान गर्नुपर्छ।

 हाम्रो रोटी र बेटीको सम्बन्धको छ। यस्तो संबेदाशील समयमा केही भड्काउ व्यक्तिहरुले आक्रामण गर्न सक्छ। 

दुई देशको अन्तरदेशीय सम्बन्ध विगार्न भड्काउ तत्वहरु लागेका छन्। जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरुबाट पनि देखिन थालेको छ। यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ।

नेपाल मेराे जननी जज्मभूमि हाे। नेपाली सबै हामी दाजुभाइ दिदीबहिनी हाैँ।नेपाली चेली मनिषा काेइराला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरेँ त्यसरी नै नेपाली भावनालाई म खुशीका साथ प्स्तुत गर्न सधैँ तयार छु। मैले प्रत्यक्ष प्रसारण भइरहेकाे कार्यक्रममा बाेलेका केही शब्दकाे हेक्का नभएकाेले केही गल्ति बाेले हाेला जसकाे सन्दर्भ टेढिएर अर्थ लागे होलान्। यस्तो परिस्थिती खडा भएकोमा म क्षमाप्रार्थी छु। अब, आइन्दा यसरी बोल्दा पक्कै पनि हेक्का राख्नेछु। जय नेपाल जय नेपाली।’

प्रकाशित मिति: : 2020-05-24 12:22:18

प्रतिकृया दिनुहोस्