बलात्कार आरोपमा पूर्वडीएसपी खिउजू पुर्पक्षका लागि जेल चलान

बलात्कारको आरोपमा नेपाल प्रहरीका पूर्वडीएसपी राजकुमार खिउजू पुर्पक्षका लागि जेल चलान भएका छन् ।

उनलाई जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले जनाएको छ ।

उनीमाथि ललितपुरको ठूला दुर्लुङका एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।

जिल्ला अदालत ललितपुरमा बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश चूडामणि खड्काको एकल इजलासले खिउजूलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।

बलात्कारको आरोप लागेपछि नेपाल प्रहरीका पूर्वडीएसपी खिउजू गत फागुन २१ गते भक्तपुरबाट प्रकाउ परेका थिए ।

उनीविरुद्ध बलात्कार गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा गत माघ २३ गते किटानी जाहेरी दर्ता भएको थियो ।

महानगरीय प्रहरी वृत्त, चापागाउँमा प्रहरी प्रमुख रहेका बेला खिउजूले आफूमाथि पटक–पटक यौनहिंसा गरेको ती युवतीले आरोप लगाउँदै हदैसम्म कारबाहीको माग गर्दै जाहेरी दर्ता गरेकी थिइन् ।

२०७६ साउनमा सरुवा भइ मोरङ पुगेका खिउजूले चापागाउँ रहँदा पटक–पटक यौनहिंसा गरेको आरोप लगाएर ती युवतीले उजुरी दिने थाहा पाएपछि गत पुसमै राजीनामा दिएका थिए ।

सुरक्षा गार्डको जागिर खान नजिकको प्रहरीबाट सिफारिस आवश्यक परेकाले ती युवती खिउजूको सम्पर्कमा पुगेकी थिइन् ।

चापागाउँमा डेरागरी बस्ने ती युवतीले सोही समय खिउजूले आफ्नै कार्यकक्षमा जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छन् ।

प्रकाशित मिति: : 2020-05-28 18:40:42

प्रतिकृया दिनुहोस्