सङ्गीतको अहम्मन्यता

(अनुष्टुप छन्द)

(अनुष्टुप छन्द)

सबैको प्रिय मानिन्छ मीठो सङ्गीत वादन
सङ्गीतै हो मनोभाव हौसने मुख्य साधन॥१ ॥

जीवन् को हर पाइलामा सङ्गीत गुन्गुनाउँछ
सुखमा झन् सुखद् बन्छ दुःखमा सुम्सुम्याउँछ॥२ ॥

सङ्गीत मनमा बग्छ नदी खोला बगे सरि
भन्छन् सङ्गीत त्यैं हुन्छ जहाँ हुन्छिन् सुरेश्वरि॥३ ॥

प्रवाहले जहाँ गर्छ आलिङ्गन् झरनासित 
जन्म सङ्गीतको हुन्छ मिसिन्छ छहरासित॥४ ॥

सुनिन्छ ढोल मृदङ्ग सुरताल अनेकन
ताल दिन्छन् सबै वन्य-जन्तुहरू मिलीकन॥५ ॥

मन्द-मन्द बतास् चल्छ बंशीको धुन लाग्दछ।
चराले गर्छ आलाप लय माधुर्य जाग्दछ॥६ ॥

हुन्छ जीवन्त प्रकृति गर्छ कोकिल गायन
जब गूँज्दछ सङ्गीत चिन्ता हुन्छ पलायन॥७ ॥

हुँदा मग्न जगत सारा साङ्गीतिक् सुर-तालमा
परमानन्द पाइन्छ गायन् वादनकालमा॥८ ॥

मनोविकार् पखालिन्छ चित्तमा स्फूरण हुँदा
अन्तःस्करणको शुद्धि, हुन्छ सङ्गीतले छुँदा॥९ ॥ 

अतः जीवन-यात्रामा सङ्गीत बहुमूल्यछ 
उच्च छन् धर्म-संस्कृति जहाँ सङ्गीत पूज्यछ॥१०॥

प्रकाशित मिति: : 2020-05-30 18:18:00

प्रतिकृया दिनुहोस्