रौतहटमा तीनमहिने जुम्ल्याहा दिदीबहिनीलाई कोरोना संक्रमण

रौतहटमा तीन महिने जुम्ल्याहा दिदी बहिनी पनि कोरोना भाईरसको पुष्टि भएको छ।

भारतीय सीमानासँग जोडिएको इशनाथ नगरपालिकाका दुई जना जुम्ल्याहा बालिकामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो।

केही दिनअघि भारतको दिल्लीबाट आएका वडा नम्बर २ को एक दम्पत्तिको दुई जना जुम्ल्याहा बालिका र सुत्केरी महिला पनि कोरोना भाईरसबाट संक्रमित भएको पुष्टि नगर स्वास्थ संयोजक ईसराजुल खानले बताए।

परिवारका तीनजना संक्रमित भए पनि जुम्ल्याहाको बाबुको रिपोर्ट निगेटिभ रहेको संयोजक खानले जानकारी दिए। रौतहटको जिंगडियास्थित प्रहरी विद्यालयमा निर्माण भएको आईसोलेसनमा जुम्ल्याहा र सुत्केरीको उपचार भइइरहेको र तीनैजनाको अवस्था सामान्य रहेको खानले जानकारी दिए।

कोरोना भाईरस संक्रमितको मामलामा ईशनाथ दोस्रो स्थानमा रहेको छ । ईशनाथ नगर क्षेत्र अन्तर्गत ६८ जना संक्रमित भेटिएका छन्। जिल्लामै पहिलो संक्रमित मदर्सा टोलका १९ बर्षिय युवा नारायणी अस्पताल बिरगन्जबाट कोरोना जितेर आईसकेका छन्।

बाँकी ६७ जना संक्रमितको प्रहरी विद्यालय र गौरस्थित नर्सिङ क्याम्पसमा निर्मित आईसोलेसनमा उपचार भइरहेको नगर प्रमुख सन्तोष मेहताले जानकारी दिए।

संक्रमित सबैको अवस्था सामान्य रहेको मेयर मेहताले बताए। संक्रमित सबैजना लकडाउनको अवधिमा भारतको विभिन्न सहरबाट आएका थिए। ईशानाथ नगरक्षेत्र अन्तर्गतको विभिन्न क्वारेन्टाइनमा हाल एक हजार नौ सय २४ जना छन्। संकास्पदको पिसिआर रिपोर्ट एकदम ढिलो आउने गरेको कारण ठूलो जोखिम भएको जिल्ला अस्पताल गौरका प्रमुख महेश साहले बताए।

१५ दिन अघि संकलन गरि पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ आउँदा १५ दिन पछि त्यो मानिस क्वारेन्टाइनमा बसेका अन्यबाट संक्रमित हुने जोखिम रहेकाले रौतहटमा पिसिआर जाँच गर्ने मेसिन अपरिहार्य रहेको प्रमुख साहले बताए।

मंगलबार बिहानसम्म रौतहटमा कुल दुई सय ३५ जना कोरोना भाईरसबाट संक्रमित पुष्टि भएका छन्।

जिल्लाको १८ वटै स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या ८ हजार नाघेको छ।

प्रकाशित मिति: : 2020-06-02 13:16:43

प्रतिकृया दिनुहोस्