प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले नेपाल प्रहरीमा दलित सेल खोल्न निर्देशन दिएको छ।
मंगलबार भएको छलफलमा दलितविरुद्धको अभियान सफल बनाउनुपर्ने माग उठेपछि समितिले सरकारलाई प्रहरीभित्र दलित सेल खोल्न नर्दिेशन दिएको समिति सभापति कृष्णभक्त पोखरेलले बताए।
‘प्रहरीभित्र महिला सेल छ। त्यसले महिला हिंसा कम गर्न महत्वपूर्ण भूमिका खेलेको छ। सांसदरुले त्यस्तै खालको सेल स्थापना गरेर दलितविरुद्धको अभियान सफल बनाउनुपर्ने बताएपछि सरकारलाई उक्त निर्देशन दिइएको हो’,उनले भने।
बैठकले पश्चिम रुकुममा मृत्यु हुने सबैमा श्रद्धान्जली अर्पण गर्दै वेपत्ता भएकाको तत्काल खोजी गर्न र घाइतेहरुको उपचार निशुल्क गर्न समेत सरकारलाई निर्देशन दिएको छ । यस्तै उक्त घटनाको निस्पक्ष छानविन गर्न र अपराधीलाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
दलित समुदायमाथि श्रङ्खलाबद्ध विभेद हिंसाका घटनाहरु घटिरहेकोले सबै प्रकारका जातिय विभेदका स्वरुप र हिंसा अन्त्य गर्नका लागि महाअभियान चलाउन समेत सरकारलाई निर्देशन दिइएको सभापति पोख्रेलले बताए।
छलफलमा गृहमन्त्री रामबहादुर थापा, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलगायत सहभागी थिए।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले रुकुम घटनालाई अमेरिकाको घटनासँग जोडेका छन्। संसारको सबैभन्दा बढी लोकतान्त्रिक र समृद्ध मुलुकमा समेत जातिय विभेदका घटनाहरु भइरहेको बताउँदै उनले नेपालमा पनि कानूनी र राजनीतिक रुपमा विभेद अन्त्य भएपनि व्यवहारिक रुपमा विभेद रहेको स्वीकार गरे । उनले भने, ‘यसलाई सामाजिक प्रक्रियाको स्वभाविक प्रक्रियाको रुपमा मानौँ । संसारको सबैभन्दा शक्तिशाली, सबैभन्दा समृद्ध र सबैभन्दा बढी सभ्य, लोकतान्त्रिक भन्ने देश अमेरिकामा पनि यहि समयमा यस्तै घटना घटेको छ । केही समानताहरु छन् । तर त्यहाँ राज्यबाटै विभेद भएको छ । कानूनहरु त्यहाँ पनि छन् कार्यान्वयनमा फितलो छ।’
जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विकको हत्या भएको थियो। उनीसहित ५ जना साथीको शव भेरी नदीमा भेटिएको थियो भने एक जनाको अझै हराइरहेको छ।
घटनामा १२ जना घाइते भएका छन्।