चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

चलचित्रकर्मी दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन्।

बोर्डका सदस्य, फिल्म लेखक, निर्देशक तथा गीतकारसमेत रहेका दाहाललाई बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले अध्यक्षमा नियुक्त गरेको हो।

विगत ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दाहालसँगै अभिनेता भुवन केसी र चलचित्रकर्मी/ संकृतीविद राजेश थापा अन्तिम तीनमा सिफारिस भएका थिए।

दाहालले अब २ वर्ष विकास बोर्डको नेतृत्व गर्नेछन्। तत्कालिन अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्ड नेतृत्वविहिन भएको थियो ।

नेपाली चलिचत्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका निर्देशक दाहालले बोर्डको सदस्य पदमा रहेर अनुभव हासिल गरिसकेका छन्। यसैले, यो जटिल समयमा उनले बोर्डमा चलचित्रकर्मीको हितका लागि काम गर्ने विश्वास गरिएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाको आवेदन परेको थियो। जसमा, अन्तिम ३ जनाको नाम मन्त्रीपरिषद्मा सिफारिस गरिएको थियो।

दयाराम दाहालले निर्देशन गरेको पछिल्लो चलचित्र ‘रानी’ हो । उनले ‘दौतरी, ठूल्दाई, चाँदनी, जंगे, ढुकढुकी, तँ त साह्रै विग्रिस नि बद्री, भरिया, दाइजो, जेठ कान्छो, अग्नी ज्वाला, भाग्य विधाता, दोबाटो, कर्मयोद्धा, अरबपति, दशगजा, फर्केर हेर्दा, कहाँ छौ कहाँ, म तिमी बिना मरिहाल्छु, नेपाल’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।

प्रकाशित मिति: : 2020-06-04 22:53:11

प्रतिकृया दिनुहोस्