योगी आदित्यनाथको आपत्तिजनक अभिव्यक्ति : नेपालले सीमा निर्धारण गर्दा परिणाम पनि ख्याल गरोस्

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भविष्यको परिणाम ख्याल गरेर राजनीतिक सीमा निर्धारणसम्बन्धी कदम चाल्न नेपाललाई चेतावनी दिएका छन् । आदित्यनाथले बुधबार लखनउमा इन्डो एसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा नेपालले आफ्नो सीमाबारे निर्णय गर्नुपर्ने बताएका छन् । 

२ जेठमा भारतका स्थल सेनाध्यक्ष मणिमुकुन्द नरभणेले कसैको उक्साहटमा नेपालले लिपुलेक सडकको विरोध गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ताका लागि नेपालको प्रस्तावको जवाफ भारतबाट आएको छैन, तर प्रधानमन्त्री नरेन्द्र मोदीका अत्यन्त निकटस्थ योगीबाट नकारात्मक टिप्पणी आएको छ । 

‘नेपाल र भारत दुई देश भए पनि हाम्रो आत्मा एउटै हो । नेपालले तिब्बतको भविष्य के भएको हो भन्ने विचार गर्नुपर्छ । उसले तिब्बतको जस्तो गल्ती गर्नुहुँदैन,’ आदित्यनाथले भनेका छन् । नेपालसँग सांस्कृतिक रूपमा सम्बन्ध रहेको गोरक्षपीठका महन्तसमेत रहेका योगी विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका उपाध्यक्ष हुन् । महासंघले नेपालमा राजसंस्थासहित हिन्दू अधिराज्यका पक्षमा राजनीतिक लबिङ गर्दै आएको छ । आदित्यनाथले नेपाललाई स्पष्ट शब्दमा भनेका छन्, ‘नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दाअघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा पनि सोच्नुपर्छ । विगतमा तिब्बतमा के भएको थियो, तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालीले सम्झिनुपर्छ ।’

प्रकाशित मिति: : 2020-06-05 08:32:21

प्रतिकृया दिनुहोस्