प्रदेशसभाको बैठक स्थगित

मुख्यमन्त्रीले भाेलिसम्म विश्वासको मत नपाए सुदूरपश्चिममा कांग्रेसकाे सरकार बन्ने

File Photo
File Photo

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो।

प्रदेश सरकारको आग्रहअनुसार बिहीबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको हो।

प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले आज विश्वासको मत लिन लागेका हुन्। ५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ।

सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिनेबारे हालसम्म टुङ्गो लागेको छैन। नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ।

मुख्यमन्त्री रावलले बिहीबारसम्म विश्वासको मत पाउन नसकेमा एमाले नेतृत्वकाे सरकार ढल्ने छ भने प्रदेशसभाको ठुलो दलको संसदीय दलको हैसियतमा नेपाली कांग्रेसका कमल शाह मुख्यमन्त्रीमा नियुक्त हुनेछन्।

प्रदेशसभामा सत्तापक्षीय नेकपा (एमाले)का दश, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक दश, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सदस्य छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य छन्।

प्रकाशित मिति: : 2023-02-08 12:29:00

प्रतिकृया दिनुहोस्