मुख्यमन्त्री गुरुङले भने-'वातावरणमैत्री विकास आवश्यक'

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरालाई उद्यानको शहरका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। 

४७औँ विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं ३, ४ र ९ को सङ्गमस्थल पालिखेचोकमा निर्मित उद्यानमा आयोजित कार्यक्रममा बोल्दै उनले पोखराको वातावरणमैत्री विकास आवश्यक रहेको बताएका हुन्। 

पोखराको मनोरम प्राकृतिक सौन्दर्यता वातावरणीय स्वच्छताको उपजसमेत रहेको बताउँदै उनले भने, 'वातावरण संरक्षण गर्दै पर्यटनको विकास गर्नुपर्ने आवश्यकता छ।

पोखराको सुन्दरतालाई भावी पुस्तासम्म पु¥याउनका लागि पनि वातावरण संरक्षणको विकल्प नभएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले भने, 'सबैको सामूहिक प्रयासमा यसको संरक्षण र विकास गर्नुपर्छ।' 

मुलुककै पर्यटकीय राजधानीका रूपमा रहेको पोखरामा फराकिला सडक, पार्क निर्माणमा सामूहिक प्रयासको खाँचो रहेको उनको भनाइ छ। 

'विकास निर्माणमा सरकार निर्मम भएर लाग्नुपर्छ' उनले भने, 'पोखरामा अन्तर्राष्ट्रियस्तरको सेमिनार हल निर्माण गर्नका लागि जग्गाको खोजी भइरहेको छ। त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यकता छ।' 

महानगरको सौन्दर्यकरण गर्ने उद्देश्यले सो स्थानलाई चक्दाबन्दी गर्न सफल भएको र महानगरले एक वर्षको अवधिमा परिणाम देखिने गरी काम गरिरहेको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए। 

पोखरा महानगरपालिका वडा नं ४ शङ्कर बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका इञ्जीनियर बाबुराम भण्डारीले पार्क निर्माणका गतिविधिका बारेमा जानकारी दिएका थिए। 

कार्यक्रममा सो स्थानमा रहेका घर हटाउन र जग्गा खरिदमा महानगरपालिकाले रु दुई करोड ७३ लाख र पार्क निर्माणमा रु ६३ हजार लगानी गरेको हो।

प्रकाशित मिति: : 2020-06-05 12:28:03

प्रतिकृया दिनुहोस्