अर्थमन्त्रीले सांसदलाई वडाध्यक्षको हैसियतमा पुर्‍याए: गगन थापा

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्री युवराज खतिवडाले सांसदलाई वडाध्यक्षको हैसियतमा पुर्‍याएकाे टिप्पणी गरेका छन्। 

शनिवार प्रतिनिधि सभाको बैठकमा सरकारले विनियोजन गरेको बजेटमाथि बोल्दै उनले सांसद पूर्वाधार विकास कार्यक्रमलाई बजेटमा निरन्तरता दिएकोमा आपत्ति जनाउँदै उक्त टिप्पणी गरेका हुन्।

उनले बजेट निर्माणमा सांसदको भूमिका के हो भन्ने प्रश्न गर्दै बजेटको घोषणापत्र र सांसदको भूमिका के हुन्छ भनेर कहिल्यै पनि छलफल नभएको बताए। साथै उनले पञ्चायतकाल, बहुदलमा जसरी बजेट ब्यवस्था गरिन्थ्यो अहिले गणतन्त्रमा पनि त्यसरी गरिएको बताए। 

सांसद थापाले भने, ‘स्थानीय पूर्वाधार कोषबाट सांसदहरुले वडाअयक्ष जस्तो पैसा लिन थाल्यौं। स्थिति पहिलाको भन्दा बिगियो। हाम्रो हैसियत वडाध्यक्षको जस्तो भएको छ।यसलाई बदल्ने कुरामा गुनासो र गनगन गरेर मात्र हुँदैन। यसमा तर्कपूर्ण रुपमा छलफल गर्न आवश्यक छ।’

सांसद विकास कोष बन्द गर्नुुपर्ने उनले बताए। कुनै पनि खराब अभ्यास हटाउनुछ भने गुनासो गरे मात्र नहुने भन्दै उनले भने, ‘साँच्चिकै बदल्न चाहन्छौं भने केही अभ्यास बदल्नु छ, कानुन बदल्नु छ। यो कोषलाई यो पटकको बजेटबाट हटाउनका निम्ति सरकारलाई भन्छौं भनेर यहीँबाट सुरु गर्नुपर्छ।’

उनले रोगी, सुत्केरी, खान नपाएकाहरु भूईँ मान्छेका लागि बजेट माग गरेपनि अर्थमन्त्रीले त्यसलाई नदेखेको बताए। उनले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्नु राम्रो कुरा भएपनि सर्वसुलभ स्वास्थ्यका साथै स्वास्थ्य बीमाका बारेमा किन केही कुरा आएन भन्दै प्रश्न गरे। 

उनले विनियोजित बजेटको मन्त्रालयगत छलफलमाथि समेत प्रश्न उठाएका छन्। धेरै मन्त्रालयबारे एकैपटक छलफल गर्ने र सांसदलाई थोरै समय दिँदा छलफलको लागि छलफल जस्तो मात्रै हुन पुगेको उनको टिप्पणी छ। ‘८ वटा मन्त्रालय, ४ मिनेको समय’ कांग्रेस सांसद थापाले भने, ‘हामीले बोले पनि के नबोले पनि के? मन्त्रीले एउटा कानले सुन्नुहुहुन्छ अर्को कानले उडाइदिनुहुन्छ। कमा पनि फेरिन्न, फुलिस्टप पनि फेरिन्न।’

प्रकाशित मिति: : 2020-06-06 16:30:23

प्रतिकृया दिनुहोस्