सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन गर्ने 

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन शुरु गर्ने तयारी गरेको छ।

जारी लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै विकल्पका रूपमा अनलाइन प्रणालीको शुरुआत गर्ने तयारी भएको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले जानकरी दिए। 

'विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई पाठ्यक्रम पुनरावलोकनका साथै नयाँ ज्ञान दिलाउन अनलाइन प्रणालीको शुरुआत गर्ने तयारी भएको हो' उनले भने। 

लामो समयसम्म क्याम्पस बन्द हुँदा विद्यार्थीहरुमा नकारात्मक प्रभाव पर्ने भएकाले अनलाइन प्रणालीबाट पठनपाठनको तयारी भएको उनको भनाइ छ। 

इन्टरनेटको पहुँचमा भएका विद्यार्थीहरुलाई एकै पटक अनलाइनमार्फत पठनपाठनको तयारी भएको बताउदैं उनले भने, 'यसका लागि विश्वविद्यालयले मातहतका क्याम्पसका प्राध्यापकहरुका लागि अनलाइन तालिमसमेत सञ्चालन गरेको छ।' 

दश दिने उक्त तालिममा विश्वविद्यालयका १४ वटै आङ्गिक क्याम्पस र केन्द्रीय क्याम्पसका प्राध्यापकहरुको सहभागिता रहने छ। 
 
अनलाइनबाटै सञ्चालन गरिएको तालिममा कसरी पठनपाठन गर्ने, विद्यार्थीहरुको पहुँच कसरी बढाउने, शिक्षण क्रियाकलापलाई अनलाइन माध्यमबाट कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको क्याम्पस प्रमुख अवस्थीको भनाइ छ। 

विश्वविद्यालयअन्तरगतका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको इन्टरनेटमा पहुँच पुर्याउन नेपाल टेलिकम र एनसेलसँग समेत सहकार्य भइरहेको छ।  
 

प्रकाशित मिति: : 2020-06-07 07:57:15

प्रतिकृया दिनुहोस्