सुरक्षाकर्मी, जोखिमका बीच कर्तव्यपथमा

मुलुकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने सुरक्षाकर्मी उच्च जोखिमका बीच कार्यस्थलमा खटिएका छन्। देशका विभिन्न भागमा ५३ सुरक्षाकर्मीमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण देखिए पनि जोखिम मोलेरै उनीहरु कर्तव्यपालना सक्रिय छन्।

सङ्क्रमण रोक्न मुलुकमा ७६ दिनदेखि जारी बन्दाबन्दीको आदेश कार्यान्वयन गर्दै नागरिकको शान्तिसुरक्षामा अहोरात्र खटिएको नेपाल प्रहरी बढी प्रभावित हुन पुगेको छ। कार्यस्थलमा मानिससँग प्रत्यक्ष साक्षात्कार हुने हुँदा नेपाल प्रहरी बढी जोखिममा छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही जोखिमका बीच उच्च मनोबलका साथ शान्तिसुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा सरकारको आदेश पालना गर्दै सङ्क्रमण फैलनबाट रोक्न सुरक्षाकर्मी कार्यस्थलमा खटिएको बताउनुहुन्छ। अझै पनि सबै प्रहरीले न्यूनतम व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री प्राप्त गर्न सकेको छैन। अभावका बीच प्रहरीले आफ्नो भूमिकालाई कमी हुन दिएको छैन।

नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले पनि सरकारले तोकेको जिम्मेवारीलाई अग्रभागमा बसेर कर्तव्यपालना गरिरहेको छ। मुलुकमा अहिलेसम्म कूल तीन हजार ४४८ जनामा कोभिड–१९ देखिएकामा कर्तव्य निर्वाह गर्ने क्रममा सुरक्षा निकायका ५३ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ। यसमा सबैभन्दा बढी ३३ जना नेपाल प्रहरीका छन्। नेपाली सेनाका १४ मध्ये सातजना विदेशमा सङ्क्रमित भएका हुन्। सशस्त्र प्रहरीका पाँच र राष्ट्रिय अनुसन्धान विभागका एकजनामा कोभिड–१९ पुष्टि भएको छ।

प्राप्त विवरणअनुसार नेपाल प्रहरीका ३३ मध्ये १४ जना निको भएर होम क्वारेन्टिनमा फर्किसकेको र १९ जनाको उपचार जारी छ। जसमा चार जना उपत्यकाका छन्। प्रहरीका प्रवक्ता शाही मापदण्ड बनाएर आवश्यक सुरक्षा सावधानी अपनाइए पनि केही कर्मचारीमा सङ्क्रमण देखिएको बताउँछन्। उनका अनुसार अग्रभागमा खटिने प्रहरीलाई आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) तथा अन्य स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ।

सुरक्षा मापदण्ड अपनाइएको बताए पनि प्रहरीले पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामग्री प्राप्त गर्न सकेका छैनन्। उनीहरुले चाहेर पनि सामाजिक दूरी कायम गर्न सकेका छैनन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न कूल ४६ हजार प्रहरी परिचालन गरेका छ। थप १० हजार सुरक्षा फौज जुनसुकै समयमा पनि परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राखिएको छ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ केहीमा सङ्क्रमण देखिए पनि मनोबल उच्च पारेर सशस्त्र प्रहरीले काम गरिरहेको बताउँछन्। उनका अनुसार पाँच सशस्त्र प्रहरीमा कोभिड–१९ देखिएकामा चार जना निको भएर फर्किसकेका छन्। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्वदेश र विदेशमा गरेर १४ जनामा सङ्क्रमण देखिएको जानकारी दिए। काठमाडौंबाहिर सात जना सङ्क्रमित रहेको तथा दक्षिण सुडानमा तीन, अफ्रिकामा दुई र मालीमा दुई जना सङ्क्रमित भएको पाण्डेले जानकारी दिए।

सुरक्षाकर्मी आम सुमदायसँग नियमित रुपमा जोडिन पुग्ने भएकाले उनीहरूबाट नागरिकमा सर्ने सम्भावना अधिक हुन्छ। मानिसको भीडभाड रोक्नुपर्ने हुँदा उनीहरुलाई सामाजिक दूरी कायम गर्न पनि हम्मेहम्मे हुन्छ। जस्तोसुकै परिस्थितिमा पनि उपलब्ध स्रोतसाधनबीच सुरक्षाकर्मीले सरकारको आदेश पालनासँगै आफ्नो कर्तव्य पूरा गरिरहेका छन्।

सुरक्षा निकायले सङ्क्रमण फैलनबाट रोक्न आवश्यक क्वारेन्टिनको तयार पारेर घर बिदाबाट आएकालाई राख्ने गरेको छ। उनीहरुले आ–आफ्नै कोभिड–१९ मापदण्ड कार्यान्वयनमा ल्याएका छन्। सरकारले आदेश जारी गरेको बन्दाबन्दी कार्यान्वयनमा सडक तथा सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको छ। नेपाली सेना स्वाथ्योपचारलगायतका सरकारले तोकेका अन्य क्रियाकलापमा सहभागी भइरहेको छ। हरेक विषयमा अग्रभागमा रहने सुरक्षाकर्मीसामु अहिलेको विषम परिस्थितिमा कोभिड–१९ को सङ्क्रमण रोकथाममा पनि अहम् भूमिका हुन्छ। रासस

प्रकाशित मिति: : 2020-06-07 22:29:58

प्रतिकृया दिनुहोस्