चितवन मेडिकल कलेज सरकारलाई पीसीआर परीक्षण प्रयोगशाला दिन तयार

कोभिड-१९ को संक्रमण बढिरहेको समयमा चितवन मेडिकल कलेजले स्थापना गरेको पीसीआर परीक्षण प्रयोगशाला सरकारलाई दिन तयार रहेको जनाएको छ। एक वर्षदेखि काम थालेर हाल प्रयोगशाला सञ्चालनको तयारी अवस्थामा पुगेको छ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले आफूहरुसँग जनशक्ति र प्रयोगशाला तयारी भएको भन्दै सरकारलाई दिन तयार रहेको पत्र दिइसकेको बताए। उनका अनुसार केही दिनअघि स्वास्थ्य मन्त्रालयलाई कलेजले प्रयोगशाला दिन तयार रहेको पत्र पठाएको छ। प्रयोगशालामा काम गर्नसक्ने सात जना अनुभवी जनशक्ति रहेका छन्। कलेजका जनशक्तिले भरतपुर कोभिड-१९ प्रयोगशाला सुरुवातमा काम गरेका थिए।

हाल पनि कलेजकै दुईजना जनशक्ति प्रयोगशालामा रहेका छन्। न्यौपानेले अहिलेको संकटको समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै सरकारलाई सहयोग गर्ने प्रस्ताव आफूले गरेको जानकारी दिए। कलेजले अनुमति पाएमा परीक्षण गर्न सक्ने भए पनि सरकारी तवरबाटै प्रयोगशाला सञ्चालन गर्न उपयुक्त हुने आफ्नो सुझाव रहेको उनले बताए।

यस प्रयोगशालामा दैनिक दुई सयभन्दा बढी नमुनाको परीक्षण गर्न सकिने उनको भनाइ छ। त्यहाँ लाग्ने खर्च सरकारी तवरबाट गरेर काम गरेमा अहिले पालो कुरेर राखिएका नमूनाहरुको समयमा परीक्षण गर्न सकिने देखिएको छ। भरतपुर कोभिड-१९ प्रयोगशाला स्थापनामा न्यौपानेको सक्रिय भूमिका रहेको थियो। उनले तत्कालीन समयमा पनि मेडिकल कलेजमा प्रयोगशालाका लागि ठाउँ दिन तयार रहेका जनाएका थिए।

हाल भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा चितवन, मकवानपुर, नवलपुर र कपिलवस्तुका नमुना परीक्षण भइरहेको छ। यस मेडिकल कलेजले निजी क्षेत्रबाट कोभिड-१९ नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। कोभिड क्लिनिकमा दैनिक पाँच÷छ जना बिरामी हेर्दै आएको जनाएको छ। यहाँ सञ्चालनमा आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा २० वटा शय्यालगायतका उपकरण र जनशक्ति चितवन मेडिकल कलेजले सहयोग गरेको छ।

प्रकाशित मिति: : 2020-06-07 22:58:29

प्रतिकृया दिनुहोस्