जीवन भागदौडमा चलिरहेको थियो । पूँजीवादले हामीलाई यसरी कजाएको थियो कि; भोक, निद्रा, व्यक्तिगत जीवन, पारिवारिक जीवन, आराम, आत्मचिन्तनलगायत जीवनका विविध पाटा बिर्सेर हामीहरू मृगतृष्णाको यात्रामा फर्किन नमिल्ने दुरीतर्फ अग्रसर थियौं । हाम्रा तृष्णा र महत्त्वाकांक्षाका उचाइ दिन प्रतिदिन अग्लिरहेका थिए । जीवनका शितलता हिउँ जसरी पग्लिरहेका थिए । सफलतामा सन्तुष्टि थिएन, असन्तुष्टि मात्र थियो । आर्जन गरेका पैसा, सुन, जग्गा, घर, शेयर, व्यवसाय आदिले नपुगेर हामीहरू आकुलब्याकुल भइरहेका थियौं । भोगको तृष्णामा हाम्रा ओठ सधैँ सुकेका थिए, हाम्रा नजर सधैँ झुकेका थिए ।
विश्वमा एकाएक आएको अप्रिय कोरोनाभाइरस (कोभिड- १९)ले हाम्रो तृष्णाको पहाडलाई गर्ल्यामगुर्लुम ढालेको छ । भुसुनाभन्दा हजारौं गुणा सानो भाइरसले जतिसुकै शक्तिशाली हुँ भन्नेको घमण्ड, कथित सामर्थ्य, कथित शक्ति र कथित विकासलाई खुट्टाले कुल्चेर धुलोपिठो गरेको छ । त्यति मात्र होइन विज्ञानको दबदबालाई लोप्पा खुवाएको छ । कोरोनाभाइरस संसारले विकास गरेको हवाइजहाज, पानीजहाज, रेल तथा बसमा चढेर २१३ वटा देशमा पुग्न सफल भएको छ, प्रविधिको ढाडमा टेकेर अर्थतन्त्रको टाउकोमा हान्न सफल भएको छ ।