सांसद विडारीकाे प्रश्न: गड्यम गड्याम मान्छे मार्दै जाने टिपर जाँचपास गर्ने अड्डा कहाँ गयो?

सांसद रामनारायण विडारीले टिपर चालकका कारण सडक दुर्घटनाबाट मानवीय क्षति धेरै हुने गरेको उल्लेख गर्दै चेकजाँचमा कडाई गर्न आग्रह गरेका छन्। 

राष्ट्रियसभाको शून्य समयमा बोल्दै उनले भने, ‘टिपर ड्राइभर बस्ने अगाडी सिसा हुन्छ सिसामा झल्लरी टाँस्छ। अनि स्टिकर टाँस्छ। झिलि र मिली बनाएर दुलही सिंगारिएको जसरी जगननन् गरी हाँक्छ। दाँयाँबायाँ ड्राइभरले देख्दैन्। गड्यम गड्याम मान्छे मार्दै जान्छ। सवारी जाँचपास गर्ने अड्डा कहाँ गयो? त्यसले के हेर्यो? प्रहरीले हेर्यो? किन त्यस्ता प्रकारका कामलाई रोक्न सकेन? यसमा सरकारको ध्यान जावस्।’

यता सांसद विमला राई पौडेलले रुपन्देहीमा भएको सामूहिक हत्या मानसिक रोगको उपज भएको बताइन्। देशमा मानसिक रोगीहरुको संख्या बढिरहेको उल्लेख गर्दै उनले मानसिक स्वास्थ्यका लागि ठाउँठाउँमा मनोसामाजिक चिकित्सकलाई खटाउन आग्रह गरिन्। 

सांसद शारदादेवी भट्टले सुदूरपश्चिमका विभिन्न नाका हुँदै भारतबाट आउनेको संख्या बढिरहेको उल्लेख गर्दै त्यहाँ कोरोनाको जोखिम बढेको बताइन्।आवश्यक स्वास्थ्य सामग्री र राहतको उचित व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरिन्।  

सांसद राधेश्याम अधिकारीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपनि प्रभावकारी नभएको भन्दै शान्तिपूर्ण आन्दोलन गर्नेमाथि बल प्रयोग गरेको बताए। लकडाउनका कारण नागरिक र प्रहरीबीचको दुरी बढ्दै गएको उल्लेख गर्दै उनले कुनै पनि बेला नागरिकहरु लक डाउन तोड्न सक्ने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए।

सांसद हरिराम चौधरीले सुदूरपश्चिम प्रदेशमा ६० हजार बढी क्वारेन्टाइनमा रहेको उल्लेख गर्दै पीसीआर परीक्षणको दायरा बढाउन आग्रह गरे। क्वारेन्टाइनमा ठूलो संख्यामा मान्छेहरु हुँदा राज्यलाई भार परेको भन्दै उनले प्रदेशका अन्य जिल्लामा परीक्षण ल्याव स्थापना गरी नीजि क्षेत्रबाट पनि परीक्षणको व्यवस्था मिलाउनुपर्ने बताए। 

प्रकाशित मिति: : 2020-06-10 16:49:12

प्रतिकृया दिनुहोस्