रुकुम पश्चिम घटनाको छानबिन गर्न संसदीय समितिकाे टाेली असारमा घटनास्थल जाने

रुकुम पश्चिममा ६ जना युवकको हत्याको घटनाको छानबिन गर्न गठित संसदीय विशेष समितिका सदस्य असार पहिलो हप्ता घटनास्थल जाने तयारी गरेको छ।

बिहीबार सिंहदरबारस्थित कार्यलयमै पुगेर सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर समितिका सदस्यहरुले उक्त कुरा बताएका हुन। भेटपछि संसदीय समितिका संयोजक देवेन्द्र पौडेलले 

प्रतिनिधिसभामा सरकारको निशान छाप अद्यावधिक गर्नेसम्बन्धी संविधान संशोधन विधेयक विचाराधीन रहेको र उक्त विधेयक पारित गरेर मात्र घटनास्थल जाने जानकारी दिए।

सांसद पौडेलले अब कार्यविधि बनाएर अगाडि बढ्ने बताए। कार्यविधि र कर्मचारी व्यवस्थापनलगायतका विषयमा समितिले बिहीबार सभामुख सापकोटासँग छलफल गरेको बताए। 

उनका अनुसार समितिलाई आफैं कार्यविधि बनाएर लागू गर्ने अधिकार दिइएको छ।

प्रतिनिधि सभाको जेठ २६ गतेको बैठकमा समिति गठनको औपचारिक जानकारी दिइएको थियो। समितिलाई एक महिनाको समय दिइएको छ।

समितिमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती कुमारी विसुंखे, प्रकाश रसाइली (स्नेही), बिमला बिक, महेश्वरजंग गहतराज (अथक), मीनबहादुर विश्वकर्मा, र रामसहायप्रसाद यादव सदस्य छन्।

मल्ल थरकी केटीसँगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न जाजरकोटबाट रुकुम पश्चिम गएका नवराज विकसहित ६ जनाको यही जेठ १० गते हत्या भएको छ।

उक्त घटनाको छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने प्रमुख विपक्षी नेपाली कांग्रेसको निरन्तर दबाब दिएपछि प्रतिनिधि सभाले संसदीय छानबिन समिति गठन गरेर अनुसन्धानको जिम्मेवारी दिएको हो।

प्रकाशित मिति: : 2020-06-11 18:27:37

प्रतिकृया दिनुहोस्