कोरोना कारण मृत्यु भएका बालकका अभिभावकको रिपोर्ट नेगेटिभ, २ शवलाई सेनाले गर्‍याे शदगत

मृतक बालक बस्ने टोलको सुरक्षा जाँच कडा

वीरगञ्ज हेल्थ केयर अस्पतालमा शुक्रबार कोरोना संक्रमणका कारण मृत्यु भएका बालकका अभिभावको रिपोर्ट नेगेटिभ आएको छ।

शनिबार नारायणी अस्पतालमा गरिएको परीक्षणमा बालकसँगै अस्पताल पुगेका बुवाआमाको रिपोर्ट नेगेटिभ आएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बिएल नेपाली सेवालाई जानकारी दिए। 

आरडीटीमा पोजेटिभ देखिएको बारा, निजगढका ५ वर्षे बालकको शुक्रवार अपरान्ह ३ बजे मृत्यु भएको थियो। ती मृतक बालकको पीसीआार रिपोर्ट पनि पोजेटिभ आएको छ। 

निमोनियाको कारण अस्पताल भर्ना भएका बालकको रिपोर्ट पोजेटिभ आएसँगै उपचारमा संलग्न ४ जना स्वास्थ्यककर्मीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइने वीरगञ्ज हेल्थ केयरका सञ्चालक डा‍.अबुलहैस अन्सारीले बताए। यता बालकसँगै अस्पताल पुगेका ४ जनालाई भने क्वारेन्टाइनमा पठाइएको उनले बताए।

यता अस्पतालले भने नियमित सेवा सुचारु गरिसकेकाे छ। ‘अस्पतालमा पहिलेदेखिनै ५ बेड को आइसोलेसन कक्ष निर्माण गरिएको हुदाँ अस्पतालका अन्य रोगी तथा कर्मचारीमा संक्रमणको खतरा भएन,‘ उनले भने,‘अस्पतालका सम्पुर्ण सेवा पहिले जस्तै २४ सै घण्टा सुचारु रहेको छ।’

मृतक बालकमा कोरोना संक्रमण पुष्टि भएसँगै शनिबार निजगढ नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण समितिको आकस्मिक बैठकले अर्को सुचना जारी नभएसम्मका लागि अत्यावसक पसल बाहेक बजारका अन्य पसल बन्द गराएको छ  मृतक बालक बस्ने टोलको सुरक्षा जाँच कडा बनाइएको नगर प्रमुख सुरेश कुमार खनाले बताए।  

२ वटा संक्रमित शवलाई नेपाली सेनाले गर्‍याे अन्त्येष्टि 

वीरगञ्जमा रहेको २ कोरोना संक्रमित शवलाई नेपाली सेनाले अन्त्येष्टि गर्ने भएको छ। वीरगञ्जको घण्टाघरबाट फेला परेको अपरिचित २५ वर्षका युवक र ५ वर्षे बालकको शव सेनलाई जिम्मा लगाइएको अस्पतालका सञ्चालक डा. अन्सारीले बताए।

नेपाली सेनाले ती बालकको शव बुझ्दै चन्दननाथ गण कलैयाका सेनानी पारश शाहले दिउँसो निजगढस्थित पसाहा खोलाको छेउमा शदगत गरिएको जानकारी दिए। ‘दिउँसो १२ बजेसम्म निजगढस्थित पसाहा खोलाको छेउमा शवलाई शदगत गरिएको छ,’उनले भने,‘ शव बाहनमा पूर्ण रूपमा पीपीई लगाएर ३ जना सिपाही शव लिएर दाहसंस्का पुगेका थिए।’

यता अपरिचित व्यक्तिको शव मितेरी पुल नजिकको खाली जग्गामा शदगद गरिएको चण्डीप्रसाद गण, वीरगञ्जका प्रमुख सेनानी मदनजंग राणाले जानकारी दिए।

शवबारे पहिचान नखुलेकोले परिवारजनको सहभागिता नरहने उनले बताए। बिहीवार दिउँसो १ बजे घण्टाघर नजिक विपी पार्कमा अपरिचित युवकको मृत्यु भएको प्रहरीले थाह भएपछि उनको स्वाब संकलन गरि पोस्टमार्टम गरेर शव गृहमा शव राखिएको थियो।

प्रकाशित मिति: : 2020-06-13 22:57:58

प्रतिकृया दिनुहोस्