प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लकडाउन खुलेको नभई खुकुलोमात्र भएकाले सबैले आफ्नो स्वास्थ्य सुरक्षाका सावधानी अपनाउनु पर्ने बताएका छन्। सोमबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै ओलीले देशमा अब अर्को आन्दोलन आवश्यक नभएको पनि बताए ।
शुभकामना सम्बोधन गर्दै ओलीले अप्ठेरो अवस्थामा केही असहजता भए पनि अब देशमा आन्दोलन आवश्यक नभएको स्पष्ट पारेका हुन ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीका कारण शैक्षिक सत्रमा नै असर नपरोस् भनेर आजदेखि वैकल्पिक सिकाइ प्रविधिको घोषणा गरिएको बताए ।
तर कोभिड–१९ ले एसइई परीक्षाबारे भने सधैँका लागि विकल्प सोच्नु पर्ने अवस्था ल्याएको पनि बताए । उनले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको भन्दै पछिल्लो समय भइरहेका विरोध प्रदर्शनतर्फ लक्षित गर्दै सम्झाउने प्रयास गरे ।
उनले भने, ‘मैंले सार्वजनिक भएका, देशभित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरुको प्रश्न सुनेको छु । मुलुक बिग्रदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन, सामाजिक सञ्जाल लगायत आमसञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहरिने पो हो कि ? तर एकमुष्ट भन्न चाहन्छु– “जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छन्” भन्ने तपाईका अभिभावकहरुको भनाई झुठ्ठा सावित हुँदैन । हाम्रो मुलुकमा अब फेरी अर्को आन्दोलन आवश्यक छैन ।’
प्रधानमन्त्री ओलीले सोमबार वैकल्पिक सिकाइ प्रविधिको घोषणाका सन्दर्भमा नेपाल टेलिभिजनबाट शुभकामना सम्बोधन गरेका हुन ।